रौतहटमा सहकारीका कर्मचारीलाई गोलि प्रहार गरेर लुटपाट गर्न खोज्ने भारतीय पक्राउ
रौतहट प्रहरीले लुटपाटमा संलग्न एक जना भारतीय नागरिक लाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण थाना घोडासहन ग्रामपञ्चायत बसवरिया-२ का २० वर्षीय मोनुकुमार जैसवाल रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी हुन्।
गत जेठ २२ गते बिहान माँ बचत तथा ऋण सहकारी संस्थामा काम गर्ने बौधिमाई-८ का २४ वर्षीय अरविन्द कुमार दासले १७ लाख झोलामा राखेर राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न मोटरसाइकलमा चढी मौलापुरतर्फ गइरहेका थिए। सोही क्रममा विपरीत दिशाबाट आएका ३ जना अपरिचित व्यक्तिहरूले उक्त रकम लुटपाट गर्ने उद्देश्यले दासलाई पछाडिबाट गोली हानेर फरार भएका थिए ।
प्रहरीले अनुसन्धानको क्रममा घटनामा संलग्न अभियुक्तहरू सीमावर्ती भारत बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण घोडाहसनमा सक्रिय रहेको बाबा ग्याङ नामको आपराधिक समूहमा आबद्ध रहेको व्यक्तिहरूसँग साँठगाठ रहेको निष्कर्ष निकालेको थियो।
उनीहरू भारत र नेपालको सीमावर्ती इलाकामा लुटपाट, भारतीय सामानको तस्करीमा सक्रिय रहेको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
गत असार २ गते साँझ साढे ५ बजेको समयमा मौलापुर ७ बाट घरेलु कटुवा पेस्तोल १ थान ,गोली राउन्ड २ थान समेत भारतीय नागरिक जैसवाललाई पक्राउ गरिएको डिएसपी गिरीले जानकारी दिइन्
जैसवालमाथि हातहतियार तथा खरखजना, चोरी तथा डाँका र ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थप थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले उल्लेख गरेको छ।