फुटबल कप्तान किरणको मन्त्रीलाई आग्रह-दशरथ रङ्गशालामा अन्तराष्ट्रिय खेल खेल्ने वातावरण बनाइदिनुस्
राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेमजोङले दशरथ रङ्गशालामा अन्तराष्ट्रिय खेल खेल्ने वातावरण बनाइदिन युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई आग्रह गरेका छन्।
मंगलबार खेलकुदमन्त्री श्रेष्ठको कार्यकक्षमा भएको भेटमा कप्तान किरणले यस्तो आग्रह गरेका हुन्।
नेपालमा मापदण्ड अनुसारको रंगशाला नहुँदा नेपालले विश्वकप छनौट अन्तरग घरेलु मैदानमा खेल्न पर्ने खेल पनि साउदीमा खेलेर फर्किएको छ। साउदीबाट फर्किएको केही दिनमै किरणले मन्त्रीसँग यस्तो आग्रह गरेका हुन्।
किरणले खेल करियर पश्चात पनि खेलाडीलाई नेपालमा नै बस्ने वातावरण बनाउन पहल गरिदिन पनि आग्रह गरे।
जवाफमा खेलकुद मन्त्री श्रेष्ठले दशरथ रङ्गशालालाई व्यवस्थित बनाउन कार्यविधि नै तयार गरेर लागिरहेको बतचाए।
खेलकुदमन्त्री श्रेष्ठले १००औं खेल खेलेका किरणलाई बधाई दिएका छन् ।
साउदी अरबको दमाममा विश्वकप २०२६ छनोट अन्तर्गत यमनविरुद्ध खेल्दा उनले १००औ खेल खेलेका थिए। उनी सय खेल खेल्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन्।