प्रदेशस्तरीय टी –२० क्रिकेटको फाइनलमा कास्की र स्याङ्जा भिड्ने

कास्की । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय टी –२० पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा कास्की र स्याङ्जा भिड्ने भएका छन् ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा नवलपुरलाई दुई विकेटले पराजित गर्दै स्याङ्जा फाइनलमा पुगेको हो । समूह चरणका तीन वटै खेल जितेको स्याङ्जा छ अङ्कसहित समूहको शीर्ष स्थानमा रहेर कास्कीसँगको फाइनल भेट पक्का गर्न सफल भयो ।

घरेलु टोली कास्की समूह ‘ए’ को विजेता बन्दै यसअघिनै फाइनल पुगिसकेको छ । प्रतियोगिताको फाइनल खेल भोलि बिहीबार हुने आयोजकले जनाएको छ । स्याङ्जासँगको खेलमा टस जितेर सुरुआतमा ब्याटिङ रोजेको नवलपुरले १७ ओभरमा सीमित गरिएको खेलमा १६ ओभरको चौथो बलमा ‘अलआउट’ हुँदै ७५ रन मात्रै बनाउन सक्यो ।

खेलमा नवलपुरका लागि रिजन काफ्लेले ४५ बलमा ३० रनको योगदान दिए भने कमल परियारले २२ बलमा १८ रन मात्रै जोड्न सके । यस्तै सुदिप अर्यालले १२ रनको योगदान दिए । स्याङ्जाका लागि ‘प्लेयर अफ दी म्याच’समेत रहेका सन्दिप खत्री क्षेत्री र अङ्कित न्यौपानेले समान दुई/दुई विकेट लिए ।

खेलमा ७६ रनको लक्ष्य पछ्याएको स्याङ्जालाई जितका लागि अन्तिम ओभर कुर्नुपर्यो । स्याङ्जाले १६ ओभरको दोस्रो बलमा आठ विकेटको विकेटको क्षतिमा ७९ रन बनाउँदै लक्ष्य भेट्टायो । स्याङ्जाका लागि अनिष ताम्राकारले १५ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै २२ रनको योगदान दिए । त्यस्तै इश्वर क्षेत्रीले २९ बलमा २१ रन बनाए भने प्रदिप पाण्डे ‘नट आउट’ रहँदै ११ रन बनाए ।

नवलपुरका लागि कमल परियारले चार ओभर बलिङमा एक मेडन राख्दै १२ रन दिएर तीन विकेट लिन सफल भए । दीपक डुम्रेले तीन ओभरमा एक मेडनसहित छ रन दिएर दुई विकेट लिए । प्रदेश खेलकुद परिषद्को आयोजना तथा प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा यही जेठ ३२ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतियोगिताको विजेता टिमलाई नगद पुरस्कार एक लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा आठ जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगिताबाट आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टोली छनोट गरिने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *