बेसहारा सिताको कष्टकर जीवन : छोराछोरी अपाङ्ग, श्रीमान् जेलमा (भिडिओ)

काठमाडौँ । तनहुँको बडहरेकी सिता थापाको उमेर बिस्तारै छिपिँदै छ । उमेरले साढे ५ दशक कटी सकेकी सितालाई जिम्मेवारीको बोझ, भोक, चिन्ता र पिरले सताउन छाडेको छैन । कलिलो उमेरमा बिहे गरेदेखि नै उनलाई आइपरेका दुखले बुढेसकालमा पनि छाडेका छैनन् ।

गाउँबाट पर टाढा जङ्गलै जङ्गलले घेरिएको ठाउँमा उनको सानो झुपडी छ । उनका छरछिमेक पनि छैनन्, छन् त केबल २५ वर्षीया अपाङ्ग छोरी अनि एक छोरा र दुख, अभावका पहाड । जङ्गलको छेउमा नत अरू कसैको घर छ, नत कोही सहारा । त्यसैले सिताले बिरामी पर्दा पानी दिने मान्छे समेत पाउँदिनन् ।

‘भूकम्प प्रभावितका लागि आएको रकम र छोरालाई गाडिले किचेर मारेबापत आएको पैसाले २ कोठाको सानो झुपडी बनाएकी छु । छेरा छोरीहरू ८ जना थिए सबै छोरा छोरीहरू जन्मजात नै अपाङ्ग भएर जन्मिए,’ उनले भनिन्,‘तिनीहरूलाई हुर्काउन धेरै गाह्रो भयो । खाने कुरा पनि हुँदैन थियो मकैको खोले पकाएर खुवाउने गर्थेँ भात कहिले पनि देख्न पाइनँ ।’

बर्षौदेखि एक्लो, दुख र पिडाको भारीले थिचिएकी सितालाई कहिले कसो उनको घरछेउमा कोही मान्छे गइदिए पनि भगवान् आएको महसुस हुन्छ । नहोस् पनि किन, जसले वर्षौँदेखि कुरा सुनिदिने मान्छे पाएकी छैनन्, उनको हालखबर सोधी दिने मान्छे पाएकी छैनन् । कोही गएर सन्चो बिसन्चो सोधिदिए मात्रै पनि उनी खुसी हुन्छिन् ।

सिताले सन्तानलाई जन्म दिएपछि हो उनको दुःखका दिन सुरु भएका । सिताले जन्म दिएका सबै सन्तान जन्मजात अपाङ्ग भएर जन्मिएपछि सुरु भएको सिताको जिन्दगी चिन्ता, पिर र अभावमै बितिरहेको छ । सिताको झुपडीमा एउटै कोठामा आमाछोरी, बाख्रा र कुखुरा पनि बस्छन् । आमाछोरीको ओछ्यान र पशुपन्छीको ओछ्यान एउटै छ । कोठाभित्रको दृश्य हेर्दा मात्रै पनि सिता र उनको परिवारले भोगिरहेको जीवनको दृश्य देखिन्छ ।

‘घाममा काम गर्दा बिरामी भएर धेरै दिन सम्म ओच्छानमै थला परेँ पानी दिने पनि कोही भएनन् । गाउँलेहरूले पनि मर्न लागेको भनेर बेवास्ता गरेर गए,’उनले भनिन्,‘घरमा बाख्रा कुखुरा छन् त्यही पनि कोही मान्छे किन्न आउँदैनन् सबै स्यालले लान्छ । खान नपाएर आफू धेरै बिरामी पर्छु काम गर्न पनि सक्दिनँ म भन्दा पहिला छोरी मरे हुन्थ्यो ।’

पहिला उनको झुपडीको एउटा सानो कोठामा उनीसँगै उनका श्रीमान् चार भाइ छोरा र चार छोरी बस्थे । तर, अहिले उनको परिवार घट्दै गएर आमा र छोरी र छोरा मात्रै छन् । सिताले जन्माएकी सबै ८ सन्तान जन्मजात अपाङ्ग भएर जन्मिए । जन्मजात अपाङ्ग जन्मिएका ८ सन्तानमध्ये अहिले उनका एक छोरी र एक छोरा मात्रै जीवित छन् । उनीहरू दुवै जना पर्ण अपाङ्ग छन् भने मानसिक रूपमा पनि विक्षिप्त छन् । छोरी हिँडडुल समेत गर्न सक्दिनन् आफू कता गए के गरे पनि थाहा हुँदैन भने छोरा आँखा कम देखेपनि सानोतिनो भारी बोकेर गुजारा चलाउँछन् । अपाङ्ग भएकै कारण उनका छाराको श्रीमतीले सम्बन्ध विच्छेद गरिन् । उनका छोरा अहिले सरकारबाट पाइने अपाङ्ग भत्ताबाट जीवन चलाइरहेका छन् ।

श्रीमान् कारागार, सिताको बिचल्ली
छोराछोरी अपाङ्ग भएर जन्मिएपछि सुरु भएका सिताका दुःखमा उनका श्रीमानको समेत साथ छैन । उनका श्रीमान् हाडनाता करणीमा जेल परेको तीन वर्ष भइसक्यो । यो तीन वर्षमा आउने महिना, दिन र बारभन्दा धेरै त सिताका अभाव, पिडा र चिन्ता आएका छन् । उनको जिन्दगी तहस नहस भएको छ ।

उनले भनिन्, ‘श्रीमान् घरमा नभए पछि आफन्त छरछिमेकले पनि हेर्न छोडे । पानी समेत दिने मान्छे छैन । पैसा नभएको कारण खाने नुन समेत छैन कुँडोमा हाल्न मागेर ल्याएको नुन खाने गरेको छु ।’

अहिले गरिबीले एक छाक टार्न पनि उनलाई गा¥हो परिरहेको छ । तर पनि उनले पेट पाल्नकै लागि केही बाख्रा र कुखुरा पालेकी छन् । अपाङ्ग छोरी र पालेका पशुपन्छीको स्याहारसुसार गरेर उनको दिन बितिरहेको छ । खेतीकिसानीले मात्रै उनको छाक टर्दैन, सरकारले दिने अपाङ्ग भत्ताबाट उनले घर खर्च चलाउँछिन् ।

‘सानो खेत छ काम केही गर्न सकिन्न अरूले काम गर्दिन्छन् त्यसको बापत छोरीको अपाङ्ग भत्ताबाट आएको पैसा सबै त्यसैमा खर्च हुने गर्छ,’ उनले मलिन अनुहार लगाउँदै भनिन्, ‘असार साउनमा खेत रोप्नको लागि पैसा नपुग्ने भएकोले भत्ताको पैसा जोगाएर राखेको छु । काम गर्न जानको लागि छोरीलाई घर भित्र थुनेर आफू काम गर्न जाने गर्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *