विश्वकपमा वेस्ट इण्डिजमाथि इंग्ल्याण्डको सानदार जित

काठमाडौं । आइसिसी टी-२० विश्वकपअन्तर्गत सुपर-८ को खेलमा इंग्ल्याण्डले आयोजक वेस्ट इण्डिजलाई ८ विकेटले हराएको छ । बिहान सम्पन्न खेलमा वेस्ट इण्डिजले दिएको १ सय ८१ रनको लक्ष्य इंग्ल्याण्डले १७.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि ओपनिङ ब्याटर फिल साल्टले आक्रामक ब्याटिङ गरे । ४७ बलको सामना गरेका साल्टले पाँच छक्का र सात चौकासहित अविजित ८७ रनको विस्फोटक पारी खेलेका हुन् । जोनी बेयरस्टोले २६ बलमा पाँच चौका र दुई छक्कासहित अविजित ४८ रन बनाए । कप्तान जोस बटलर २५ र मोइन अली १३ रनमा आउट भए । वेस्ट इण्डिजका लागि रोस्टन चेस र आन्द्रे रसेलले मात्र एक/एक विकेट लिन सके ।

त्यसअघि सेन्ट लुसियास्थित डारेन स्यामी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८० रन बनायो । उसका लागि जोनसन चार्ल्सले ३८, निकोलस पूरन र कप्तान रोभम्यान पावेलले ३६/३६, ब्रेण्डन किंगले २३ र शेर्फेन रदरफोर्डले अविजित २८ रन बनाए । इंग्ल्याण्डका लागि लियाम लिभिङस्टोन, आदिल राशिद, मोइन अली र जोफ्रा आर्चरले एक/एक विकेट लिए ।

जारी विश्वकपअन्तर्गत समूह चरणको खेलमा वेस्ट इण्डिजले चारवटै खेल जितेको थियो । इंग्ल्याण्डले समूह चरणमा चारमध्ये दुईमा जित, एकमा हार तथा एक खेलमा वर्षाका कारण अंक बाँडेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *