सांसदबाट पदमुक्त भएका फणीन्द्र देवकोटाद्वारा सर्वोच्चमा रिट दर्ता

गण्डकी प्रदेश माओवादी केन्द्र संसदीय दलको कारबाहीमा परेका सांसद फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । गण्डकी प्रदेशका मन्त्रीसमेत रहेका देवकोटाले आफूमाथि भएको कारबाही गैरकानुनी भएको भन्दै बिहीबार उक्त निर्णय कार्यान्वयनमा रोक लगाउन माग गर्दै रिट दर्ता गरेका हुन् ।

उनले गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, प्रदेशसभा सचिवालय, नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, प्रदेश समिति, संसदीय दलका नेता हरिबहादुर चुमान र निर्वाचन आयोगलाई विपक्षी बनाएका छन् ।

देवकोटाले जेठ २९ को पत्र र जेठ ३२ को सूचना कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेशको माग गरेका छन् । त्यस्तै प्रदेशसभा सदस्यको हैसियतमा पूर्ववत् कामकाज गर्न कुनै अवरोध नगर्नु भनी अन्तरिम आदेश जारी गर्न समेत माग गरेका छन् ।

२०७९ को निर्वाचनमा माओवादीको चुनाव चिन्ह लिएर गोरखा २(१)बाट उनी निर्वाचित भएका थिए । माओवादी संसदीय दलको ह्विप उल्लङ्घन गर्दै २८ जेठमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी संसदीय दलले उनलाई कारबाही गरेको हो ।

तर देवकोटाको आफू नेपाल समाजवादी पार्टी(नेसपा)का सांसद भएकाले माओवादीले कारबाही गर्न नसक्ने दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *