प्राइम सहकारी ठगी प्रकरणमा ७ जना पुर्पक्षका लागि थुनामा

पोखराको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

अदालतले सहकारीका अध्यक्ष शंकर कार्की, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल, व्यवस्थापक निरु थापा केसी, पूर्वअध्यक्ष निदेशप्रसाद कोइराला, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा विभाग प्रमुख सुनील थापा र उत्तम मगरलाई पुर्पक्षका लागि कारागार पठाएको हो ।

सहकारी ठगी प्रकरणमा बाहिरबाट सहयोग गरेको भनिएका मनबहादुर गुरुङ (माने) र राष्ट्रिय सहकारी संघ कास्कीका पूर्व प्रवन्धक सन्तोष घिमिरे धरौटीमा छाड्न आदेश दिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको इजलासले मनबहादुरलाई ३५ लाख रुपैयाँ र घिमिरेसँग एक लाख रुपैयाँ धरौटी मागेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

गत जेठ २७ गते प्राइम सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालतमा मुद्धा दायर भएको थियो । विज्ञको वित्तीय विश्लेषण, प्रहरीको अनुसन्धान प्रतिवेदनपछि जिल्ला सरकारी वकिलको कार्यालयले १ अर्ब ५७ करोड १५ रुपैयाँ बिगो र १२ वर्षसम्म जेल सजायको माग दाबीसहित ६६ जनाविरुद्ध मुद्धा दायर गरेको थियो ।

प्राइम ठगी प्रकरणमा सहकारी विभागका कर्मचारीदेखि लेखापरीक्षक सम्मले बचत रकम हिनामिना गरेको पाइएको छ । पक्राउ परेकामध्ये प्राइमका कानुनी सल्लाहकार इन्द्र बराल अनुसन्धानमा सघाउने गरी आवश्यक परेका खण्डमा उपस्थित हुने गरी उच्च बार एसोसिएसन र उनकै छोरीको रोहबरमा छुटेका थिए । तर, अदालतमा मुद्धा दायर भएपछि उनी पनि अहिले फरार भएका छन् ।

कानुनी सल्लाहकार बराल छुटेपछि रोहबर बसेका उच्च बार एशोसिएसन र छोरीमाथि प्रश्न उठिरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनबहादुर थापाका अनुसार उनको खोजी भइरहेको छ ।

सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्रमणि र व्यवस्थापक निरु थापाको प्रमुख योजनामा जनताको बचत रकम व्यक्तिगत स्वार्थमा खर्च गरेको खुलेको थियो ।

सहकारी रजिस्ट्रारको कार्यालय प्रदेशमार्फत वित्तीय विश्लेषक निर्मल गौतमले तयार पारेको प्रतिवेदनअनुसार सुरेन्द्रमणि र निरुको प्रमुख संलग्नतामा सहकारीको रकम घरजग्गा किन्ने, मिटर व्याजमा लगाउने, फर्जी खाता र फर्जी कारोबार गरेको देखाएर हिनामिना गर्ने गरेको पाइएको छ ।

सहकारीको शाखा विस्तार गर्न भन्दै सहकारी रजिस्ट्रारकै कर्मचारीले घुस खाएको, थाइल्याण्डसम्म घुम्न गएकोदेखि सहकारी विभागका कर्मचारीले सम्पत्ति शुद्धीकरणबाट जोगाइदिने भन्दै घुस लिएको प्रतिवेदनले देखाएको छ ।

करिब २ वर्ष अगाडिदेखि नै आर्थिक समस्या देखिएको सहकारीको रकम अपचलनमा नियमनकारी निकायकै कर्मचारीले घुस लिनेदेखि गाडी मर्मत, होटलको बिल दिएको देखि विभिन्न देश घुमेकोसम्म अभियोग कर्मचारीमाथि छ ।

२०६६ सालमा दर्ता भएर सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्की पोखराबाट २०७२ असारबाट बहुउद्देश्यीयमा रुपान्तरित भएको यो सहकारीको कार्यक्षेत्र सुरुमा पोखराका वडा नम्बर ३, ४, ५, ८ र ९ भर रहेकोमा अहिले कास्की, तनहुँ र गोरखा जिल्ला कार्यक्षेत्र कायम छ ।

यसको कार्यालय पोखरा महानगरपालिका वडा नं ४ मा रहेकोमा लेखनाथ, बगर, नयाँपुल गरी ३ सेवा केन्द्रमार्फत कारोबार गरिरहेको थियो ।

काल्पनिक खाता खडा गरेर कर्जा प्रवाह गर्ने, सहकारी राम्रो छ भनेर देखाउन फर्जी लेखा प्रतिवेदनसमेत तयार पार्ने र बचतकर्तालाई चाहिँ सहकारी मुनाफा गएको देखाउन लाभांशसमेत वितरण गर्ने गरेका थिए । प्रमुख प्रतिवादीलाई पक्राउ गरिएको र केहीलाई खोजी भइरहेको कास्की प्रहरी प्रमुख थापाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *