बाँकेमा वैदेशिक रोजगार सम्बन्धी उजुरी बढ्दै

नेपालगन्ज । बाँकेमा वैदेशिक रोजगारीमा जानेलाई ठगी गर्नेविरुद्ध उजुरी गर्ने सङ्ख्या बढ्दै गएको छ ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय बाँकेमा सञ्चालित आप्रवासी स्रोत केन्द्रमा आर्थिक वर्ष २०७७/०७८ मा आठ उजुरी परेकामा आव २०८०/०८१ मा त्यो सङ्ख्या ४७ पुगेको सामी कार्यक्रम बाँकेका संयोजक कमलसिंह नेपालीले जानकारी दिए । सुरक्षित आप्रवासन कार्यक्रम बाँकेका चार स्थानीय तहमा सञ्चालित छ ।

वैदेशिक रोजगारीमा जानेलाई एउटा काम भनेर अर्को काममा लगाउने, एउटा कम्पनी भनेर अर्को कम्पनीमा लैजाने र जानुपूर्व दिने भनिएको तलबभन्दा न्यून तलब दिने समस्या रहेको बताइएको छ । ‘सामी कार्यक्रम सञ्चालन भएपछि स्थानीयमा चेतना जागृत भएको अवस्था छ, त्यही भएर उजुरीको सङ्ख्या बढेको छ’, संयोजक नेपालीले भने ।

कतिपय ठगीका उजुरीमा जिल्ला प्रशासनले पीडित र पीडकलाई बोलाएर क्षतिपूर्ति दिलाएर मिलापत्र गराउने र नमिलेमा वैदेशिक रोजगार विभाग पठाउने गरेको उनले बताए ।

संयोजक नेपालीका अनुसार आप्रवासी स्रोत केन्द्रबाट एक वर्षमा १० हजार सात सय ३६ जना र कार्यक्रम सञ्चालन भएको चार वर्षमा २८ हजार ४ सय ६६ जनाले सूचना र परामर्श लिएका छन् ।

सोही कार्यक्रमका सामाजिक परिचालन अधिकृत घनश्याम वलीले नेपालगञ्ज, कोहलपुर, खजुरा र बैजनाथमा सञ्चालित वित्तीय साक्षरता कक्षा प्रभावकारी भएको बताए । वैदेशिक रोजगार बोर्डकी सामी कार्यक्रम अधिकृत लक्ष्मी चौधरीले श्रम स्वीकृति लिई दक्ष भएरमात्रै वैदेशिक रोजगारीमा जानु उचित हुने सल्लाह दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *