एमबाप्पेलाई आराम दिइएको खेलमा रोकियो फ्रान्स, पोल्यान्ड युरोकपबाट बाहिरियो
काठमाडौं । युरो कप २०२४ को समूह चरणमा फ्रान्स र नेदरल्याण्ड्सले बराबरी खेलेका छन् । शुक्रबार राती जर्मनीको लाइप्जिङ रंगशालामा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
समूह डीमा रहेका यी दुई टिमले गोलरहित बराबरी खेल्दै तालिकामा एक-एक अंक थपेपछि दुवैको समान चार-चार अंक भएको छ । यो खेलमा फ्रान्सका स्टार खेलाडी केलियन एम्बाप्पे भने मैदान प्रवेश गरेनन् ।
अघिल्लो खेलमा नाकमा चोट बोकेका एम्बाप्पेले फेस सिल्ड लगाएर खेल्ने बताइए पनि नेदरल्याण्ड्सविरुद्ध उनलाई आराम दिइएको थियो । नेदरल्याण्ड्सका जाभी सिमोन्सले ६९ औं मिनेटमा गोल गरे पनि भिएआरले चेक गर्दा अफसाइड भएको पाएपछि गोलले मान्यता नपाउँदा अग्रता लिन सकेन । अन्ततः दुवै टिमले गोलरहित बराबरी नै खेले ।
समूह डीकै अर्को खेलमा अस्ट्रियाले पोल्यान्ड्लाई ३-१ गोलले पराजित गरेको छ । अस्ट्रियाको जितमा जेनोट टुरनियर, क्रिस्टोफ बाउमगार्टनर र मार्को अर्नाउठोभिक एक एक गोल गरे ।
पोल्यान्डका लागि क्रिजस्टोफ पियाटेकले गरेको एकमात्र गोल सान्त्वनामा परिणत भयो ।
खेलको नौँ मिनेटमा जेनोटको गोलबाट अस्ट्रियाले सुरुआती अग्रता बनाएको थियो । तर, ३०औँ मिनेटमा क्रिजस्फोटले गोल गरेपछि पोल्यान्डले खेल १-१ को बराबरी अबस्थामा ल्याएको थियो ।
६६औँ मिनेटमा क्रिस्टोफले गोल गरेपछि अस्ट्रिया खेलमा २-१ ले अघि बढ्यो । ७८औँ मिनेटमा अस्ट्रियाका लागि कप्तान मार्कोले गोल गर्दै ३-१ जित दिलाए ।
जितसँगै दुई खेलबाट अस्ट्रियाले तीन अंक जोडेर तेस्रो स्थानमा छ । पराजित पोल्यान्ड भने युरोको समूह चरणबाटै विदा भएको छ ।