प्रचण्डको सरकार टिकाउने जादुवाला नम्बर !
काठमाडौं । ‘सरकार कति दिनको होला, चल्छ कि चल्दैन, केही दिनपछि सरकार जाँदै छ रे भनेर दुबिधा उत्पन्न गराउने कोसिस भएको देख्छु तर हामीलाई हटाउन सजिलो छैन, संसद्मा हाम्रो जादुवाला नम्बर छ, त्यो जादुले अनेक गरेर मिलाइहाल्छ ।’ यो भनाइ प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हो ।
शनिवार एक सार्वजनिक कार्यक्रममा प्रचण्ड आफू जादुगर रहेको र आफूलाई कसैले हटाउन नसक्ने जस्तो भावमा प्रस्तुत भए । संसदमा ३२ सांसद रहेका आफ्ना सांसदलाई जादुवाला सांसद रहेको बताउँदै आफू पूरा कार्यकाल प्रधानमन्त्री रहने प्रचण्डको भनाइ थियो ।
एमालेसँगको सत्ता सहकार्यमा असहज महसुस गरिरहेका प्रचण्डले नयाँ अस्त्रका रूपमा जादुगरको बोली प्रयोग गरेका छन् । उसो त, प्रचण्डले एमालेसँगको सहकार्यलाई तोड्दै पाँचै वर्ष प्रधानमन्त्री बन्ने र सरकार चलाउने आत्मविश्वास देखाएका छन् । पार्टीसँग जादुवाला नम्बर रहेकाले त्यो सम्भव रहेको प्रचण्डको विश्वास छ ।
प्रतिनिधिसभामा ३२ सिटसहित तेस्रो शक्तिको रुपमा रहेका प्रचण्ड अहिले सरकारको नेतृत्व गरिरहेका छन् । यी नै प्रचण्ड अहिले सत्ताको खेलमा आफू शक्तिशाली रहेकाले कसैले हल्लाउन नसक्ने बताइरहेका छन् ।
अघिल्लो निर्वाचनमा काँग्रेससँग गठबन्धन गरेर चुनाव लडेका प्रचण्डले निर्वाचन पश्चात् एमालेसँग सहकार्य गरेर प्रधानमन्त्री बने । तर, विश्वासको मत लिएको केही समयमै एमालेसँगको सहकार्य तोडेर फेरि कांग्रेसको सहयोगमा पुनः विश्वासको मत लिए । एमालेसँगको सहकार्य तोडेको एक वर्षमै गत पुसमा फेरि प्रचण्डले कांग्रेसलाई लत्त्याउँदै एमाले र, रास्वपा लगायतका दलसँग मिलेर आफ्नो पद जोगाए । सत्ता परिवर्तन गरेको एक वर्ष बित्न नपाउँदै प्रचण्डले फेरि सरकार फेरबदलको मुड बनाएको बुझ्न सकिन्छ ।
सरकारले बजेट ल्याएपछि सत्तारूढ दलकै सांसदहरूले त्यसको विरोध गरे । सबैभन्दा धेरै एमाले अध्यक्ष र एमालेका शीर्ष नेताहरूले माओवादी केन्द्रित बजेट ल्याएको आरोप लगाएपछि प्रचण्ड चिढिएका थिए । तर, यही कारणले सरकार फेरबदल हुने सम्भावना नभए पनि प्रमुख प्रतिपक्ष कांग्रेसले संविधान संशोधनको मुद्दालाई सरकार परिवर्तनको अस्त्रको रूपमा लिएको छ । कांग्रेसले एमाले र माओवादीलाई नै यो प्रस्ताव गरिरहेको बुझ्न सकिन्छ ।
उसो त, सत्तारूढ दलका सांसदहरू सरकार पूरा कार्यकाल चल्ने र गठबन्धनमा कुनै मतभेद नरहेको बताउँछन् । माओवादीका सांसद माधव सापकोटा बजेटमा टिप्पणी गरेकै कारण सरकार नढल्ने बताउँछन् । उनले एमाले र माओवादीका बिच कुनै मतभेद नरहेको र सांसदहरूले गरेको टिप्पणीलाई ठुलो अर्थमा बुझ्न नहुने बताए ।
‘सरकार परिवर्तनको हल्ला सत्य होइन, बजेटमाथि टिप्पणी गरेकै कारण सरकार परिवर्तन हुँदैन । यो सरकारले पूरा कार्यकाल काम गर्छ,’ सापकोटा भन्छन्, ‘एमाले र माओवादीबिच कुनै मतभेद छैन, हुनु पनि हुँदैन ।’
माओवादी केन्द्र मात्रै होइन, एमाले पनि सरकार परिवर्तन गरिहाल्ने अवस्था नआएको दाबी गरिरहेको छ । आन्तरिक रूपमा भने एमालेले निरन्तर काँग्रेससँग विभिन्न चरणमा छलफल चलाइरहेको छ । तर, सार्वजनिक रूपमा एमालेले तत्काल सत्ता फेरबदल नहुने बताइरहेको छ ।
एमालेका प्रमुख सचेतक महेश बर्तौला पार्टीका आआफ्ना अडान र बिचार हुने र ती विचार प्रकट भए पनि सरकार परिवर्तन नै गर्ने मनसाय नभएको बताउँछन् । उनले बजेटमा सरकारले कमजोरी गरेको र त्यसबारे टिप्पणी गर्दा अन्यथा लिन नहुने बताए । सरकारमै रहे पनि सरकारका गलत कामबारे एमालेले विरोध गर्ने र सच्याउने बर्तौलाको विश्वास छ । बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालको कमाण्डमा देश अघि बढ्ने बताए ।
‘यो सरकार पाँच वर्ष जान्छ । कसैले भत्काउन सक्दैन । भत्काउन नसक्ने गरी छ । तेस्रो दल भएर पनि सरकारको नेतृत्वमा पुग्ने गरी अवस्था जुन बन्यो, त्यो उहाँले राख्नुभएको कुरामा कतै न कतै सत्यता होला, उनले भने,‘नेकपा एमाले वा सत्ता घटक दलका कोही पनि मान्यज्युहरुले प्रधानमन्त्रीलाई अटेर गर्ने भन्ने कुरा हुँदैन, प्रधानमन्त्रीको कमाण्डमा देश अघि बढ्छ, प्रधानमन्त्री बलियो हुनुहुन्छ, प्रधानमन्त्रीलाई बलियो बनाउने जिम्मेवारी सरकारमा रहेका हामी दलहरूको हो । सरकारले राम्रो काम गर्ने गरी अघि बढाइरहेको छ ।’
यता, सरकारबारे अनेक टिप्पणी भइरहेको बेला प्रधानमन्त्री भने आफूलाई पदबाट हटाउन सजिलो नभएको बताउँछन् । विगतमा अन्य चुनौतीपूर्ण अभिव्यक्ति दिने प्रचण्ड अहिले जादु र धार्मिक चुनौती दिइरहेका छन् । जादुवाला अङ्क आफ्नो दलसँग रहेकाले आफू पुरा कार्यकाल सरकारको नेतृत्वमा रहने प्रचण्डको आत्मविश्वास छ ।