जंगलमा मंगल ! (तस्बिरहरू)

काठमाडौँ । भक्तपुरको बोडेमा रहेको नीलबाराही जंगल यतिखेर सबैका लागि लोकप्रिय बनेको देखिन्छ । बाँदर, चराचुरुङ्गी र रुख बिरुवाहरूका लागि जंगल वासस्थान र हामी मानिसहरूका लागि विश्राम स्थल बनेको छ ।

अग्ला अग्ला सालका रुखहरूले भरिएको यस जंगलमा काग र चराचुरुङ्गीको आवाजले गुन्जिएको सुनिन्छ ।

यहाँ टाढा तथा नजिकबाट मानिसहरू वनभोजका लागि आउने गर्दछन् । यसबाहेक पनि युवा देखि वृद्धसम्मका मानिसहरू यहाँ शान्त वातावरणमा रमाउन र शीतल ताप्न आइपुग्छन् ।

त्यस्तै करिब ६५ वर्षका भक्तपुर सरस्वतिखेलका निवासी केशव बस्नेत ‘बा’ पनि एउटा सानो रेडियोसँगै गीतको धुन सुनेर एकान्तमा रमाइरहेका बेला भेटिए । उनी दिनको एकपटक यहाँ डुल्न आउने गरेको बताए ।

उनले घरमा बस्दा अल्छी लाग्ने र दिन कटाउन गाह्रो हुने भएकाले नीलबाराही जंगलमा शीतलतामा रमाउन र बाँदरहरूको चर्तिकला हेरेर दिन बिताउन सजिलो हुने बताए ।

उनका अनुसार यस जंगलमा ३–४ ग्रुप बाँदरहरू छन् । उनीहरूको संख्या करिब ६-७ सय भएको उनले बताए । ती नै ग्रुपहरूमध्ये एक ग्रुप चाहिँ अलि बदमास भएको उनको भनाई छ । उनले उक्त बदमास ग्रुपलाई खानेकुरा हातले दिँदा नमान्ने र खोस्न जाने गरेको बताए ।

करिब १० बजेको समय थियो । त्यहाँ केशव ‘बा’ मात्र होइनन्, एक वृद्ध ‘बा’ पनि उहीबेला बाख्रा चराउन आइपुगे । त्यसबेला एकाएक मानिसहरू शीतल अनुभव गर्न त्यहाँ आइपुग्दा रहेछन् । बाँदरहरू पनि आ–आफ्नै धुनमा रमाइरहेका थिए । कोही रुखमा त कोही भुईँमा निदाइरहेका देखिन्थे । जे होस् जंगल एउटा जंगल मात्र होइन, मानव, पशुपन्छी, जनावर र बोटबिरुवाहरूका लागि मंगल पनि हो ।

हेर्नुहोस् तस्बिरहरू :

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *