‘म्याङ्गो फेस्ट’ मा ३२ हजार किलो आँप बिक्री
काठमाडौँ । नेपालमा पहिलो पटक भएको आँप मेला उत्साहजनक उपस्थितिमा सम्पन्न भएको छ । किसान भेन्चर र काठमाडौँ अर्गानिक्सको संयुक्त आयोजनामा असार ७ गतेदेखि ९ गतेसम्म काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा मेला भएको थियो ।
मेला अवधिभर १० हजार जनाले अवलोकन गरेको र ३२ हजार किलो आँप तिम्री भएको आयोजकले जनाएको छ ।
मेलामा सर्लाही, सप्तरी, र सिराहाका ५० जना किसानहरूबाट प्रत्यक्ष खरिद गरेर ल्याइएका विभिन्न प्रजातिका आँपहरू आँपहरू प्रदर्शनीमा राखिएका थिए ।
मेलामा आँपको अचार बनाउने, प्रशोधन गर्ने प्रविधि पनि राखिएको थियो । प्रख्यात शेफ सन्तोष शाह पनि अन्तिम दिन गार्डेन इम्सिखेलमा नेपाल म्याङ्गो फेस्ट हेर्न आएका थिए । साथै विभिन्न शेफहरूले पाउडर, स्टिकी राइस, आँप स्मृदि, सुख्खा आँप क्रस जस्ता ५० भन्दाबढि आँपबाट बन्ने उत्पादनहरू प्रदर्शन गरी आफ्नो पाक कला प्रस्तुत गरेका थिए ।
नेपालमा विभिन्न प्रजातिका आँप पाइने भएपनि आँपको मौसममा भारतीय उत्पादनले नेपाली बजार कब्जा गरिरहेको अवस्थामा नेपाली आँपको प्रचलन बढाउन , किसानलाई प्रोत्साहन गर्न र उपभोक्तालाई विषादीरहित स्वच्छ आँपको पहुँच पुर्याउन मेलाको आयोजना गरिएको आयोजकले जाएको छ ।
योसँगै आयोजकले यसै वर्ष स्याउ, सुन्तला, जुनार र टिमुरको मेला पनि आयोजना गर्ने घोषणा गरेको छ ।