युरोकप फुटबलमा आज राति स्पेन र अल्बानिया, इटाली र क्रोएसिया भिड्दै

युरोकप फुटबलमा आज राति समूह ‘बी’ को दुई खेल हुँदैछ । राति पौने १ बजे हुने खेलमा बलियो टोली स्पेनले अल्बानियाको सामना गर्नेछ। अर्को खेल साबिक विजेता इटाली र क्रोएसियाबिच खेलिने छ ।

दुवै खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछन् । यी दुई खेलसँगै समूह ‘बी’ बाट नकआउट चरणमा पुग्ने दुवै टोलीको टुङ्गो लाग्नेछ ।

यो समूहबाट स्पेन नकआउट चरणमा पुगिसकेको छ । इटाली, अल्बानिया र क्रोएसिया भने नकआउट चरणमा पुग्ने दोस्रो टोली बन्ने धुनमा छन् ।

चारवटै टोलीले दुई–दुई खेल खेलिसकेका छन् । आफ्नो दुवै खेलमा विजयी भएको स्पेन ६ अङ्कसहित तालिकाको पहिलो स्थानमा छ।

स्पेनले आफ्नो पहिलो खेलमा क्रोएसियालाई ३–० गोलले हराएको थियो । दोस्रो खेलमा स्पेनले बलियो प्रतिद्वन्द्वी इटालीमाथि १–० गोलको रोमाञ्चक जित हासिल गरेको थियो । इटाली भने तीन अङ्कसहित दोस्रो स्थानमा छ ।

दोस्रो खेलमा स्पेनसँग पराजित भएको इटालीले आफ्नो पहिलो खेलमा अल्बानियालाई २–१ गोलले हराएको थियो । अल्बानिया एक अङ्कसहित तेस्रो र क्रोएसिया पनि एक अङ्कसहित चौथो स्थानमा छ। अल्बानिया र क्रोएसियाबिचको खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

स्पेनले अल्बानियालाई हराए नौ अङ्कसहित स्पेन समूह विजेताका रूपमा नकआउट चरणमा पुग्नेछ । तर, अल्बानियाले स्पेनलाई हराएमा अल्बानियाको चार अङ्क पुग्नेछ । यस्तोमा अल्बानियाको नकआउट चरणमा पुग्ने सम्भावना बढ्ने छ । तर, अल्बानियासँगको हारले स्पेनलाई भने अघिल्लो चरणमा पुग्न कुनै असर पर्ने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *