कुबेरको फस्टाउँदै गएको बट्टाई पालन व्यवसायमा लागेको ब्रेक !

काठमाडौँ । एक समय नेपालमा बट्टाई चरा पालन व्यवसाय निकै फस्टाएको थियो । सानो क्षेत्रफल, सानो लगानीमा मनग्य आम्दानी हुने भन्दै युवा वर्गहरू यस व्यवसायप्रति आकर्षित भएका थिए । विशेषगरि बट्टाईको अन्डा र मासु मानव स्वास्थ्यका लागि फाइदाजनक हुने भएकाले बजारमा पनि यसको माग निकै बढेको थियो । पहिले सोखका लागि पालिने बट्टाई त्यसपछि व्यावसायिक बन्दै गयो ।

अहिले नेपालमा व्यावसायिक रुपमा बट्टाई पालन गर्ने व्यवसायीहरू एकदमै कम छन् । बिस्तारै बट्टाई पालन गर्ने व्यवसायीहरूको संख्या कम हुँदै गएको देखिन्छ । बजारमा बट्टाईको मासु र अण्डाको माग पनि तुलनात्मक रुपमा कम हुँदै गएको भक्तपुरस्थित सुपादेउराली एग्रो फार्म एण्ड ब्रिडिङ सेन्टरका सञ्चालक तथा व्यवसायी कुबेर गिरी बताउँछन् । बट्टाई पालन व्यवसायप्रति मानिसहरूको लोकप्रियता घट्दै गएको उनले बताए ।

सिन्धुपाल्चोक घर भई हाल दुवाकोट भक्तपुरमा व्यवसाय गर्दै आएका व्यवसायी गिरीले झन्डै ४ वर्ष अगाडिदेखि बट्टाई चरा पाल्न सुरु गरेका थिए । उनले वि.सं २०७५/७६ सालमा धेरै थरिका कुखुराहरूका लोकल प्रजातिहरू बट्टाई, टर्की र लौकट पालेको बताए ।

त्यसबेला सरकारले भिजिट नेपाल २०२० घोषणा गरेसँगै बट्टाई पालन जस्ता व्यवसायलाई पनि जोड दिएको थियो । हो, उत्तिखेरै उनले बट्टाई पालन व्यवसाय सुरु गरेको बताए । सुरुमा बट्टाईको व्यवसाय राम्रो चलेको उनको भनाई छ ।

उनले बट्टाईको चल्ला किन्दा पनि आफूलाई महँगो परेको बताए । उनले विगतलाई सम्झँदै भने ‘त्यतिखेर बट्टाईको चल्ला पाउनु पनि गाह्रो थियो, र जहाँकहीँ पनि पाइँदैन थियो ।’

उनले कोभिड–१९ को समयमा लकडाउन भएपछि बट्टाईको उत्पादन बढी भएर मार्केट कम भएको र कृषकहरू पनि विस्थापित भएको बताए । उनले भने ‘अहिले हामीसँग बिउ चैँ छ तर धेरै पाल्न सेकेको छैन ।’

उनले सुरुमा २-३ सय बट्टाई चराहरू पालेको तर अहिले संख्या घटाएर बीउ मात्रै बचाएर राखेको बताए । उनका अनुसार पहिले बट्टाईले ४०-४२ दिनमा अण्डा पार्न सुरु गर्थ्यो र ६ महिनासम्म राम्ररी अण्डा दिन्थ्यो ।

तर अहिले २-३ महिना अर्थात् ७२ दिन पछाडि मात्रै अण्डा पार्न सुरु गर्ने र ४ महिनामै अण्डा पार्न छोड्ने (थाक्ने) उनको गुनासो छ । ‘अहिले चैँ २ महिना पाल्नुपर्छ, पहिला पहिला त ४० दिन पछाडि पार्थ्यो। अहिले चाँडै पनि थाक्छ ।’

उनले गर्मी महिनामा बट्टाईको अण्डा धेरै बिक्री नहुने र बजारमा बट्टाई पनि कम उपलब्ध हुने गरेको बताए । उनले भक्तपुर सिरुटारबाट साथीहरूसँग सम्पर्क गरेर बट्टाईका चल्लाहरू ल्याउने गरेका छन् । एउटा सानो चल्ला किन्दा ३० देखि ४० रुपियाँ पर्ने उनको भनाइ छ । अण्डा पार्ने बट्टाईको २२० रुपियाँ र भाले बट्टाई १०० देखि १५० रुपैयाँसम्म पर्ने उनले जानकारी दिए ।

उनका अनुसार एउटा बट्टाईले हप्तामा बढीमा ५-६ वटा अण्डा पार्दछन् ।  ती अण्डा होलसेलमा बेच्दा ५ रुपियाँ र खुल्लामा बेच्दा ७ रुपियाँ लिने गरेको उनले बताए ।

अहिले गर्मीमा अण्डा खास्सै बिक्री नहुने र फार्मबाट नै अलिअलि बिक्री हुने उनले सुनाए । उनले भने ‘बट्टाई पाल्दा घाटा हुन्छ, नाफा हुँदैन । पहिले जस्तो अहिले ओरजिनल प्रडक्सन आउँदैन बट्टाईको, त्यो कारणले घाटा हुन्छ ।’

उनले बजारमा माग नै नभएको त होइन तर समय हेरेर माग कम र घटी हुने गरेको बताए । उनका अनुसार माघ महिनासम्म अण्डाको माग धेरै हुन्छ र व्यापार पनि राम्ररी चल्छ । तर फागुनबाट गर्मी सुरु हुने भएकाले व्यापार नचल्ने उनले बताए । ‘त्यतिखेर चैँ बिउ बचाउने काम मात्रै गर्नुपर्‍यो । अनि अरुबेला अलिकति बढाएर बजारमा दिनुभयो भने फाइदा नै हुन्छ ।’

उनले बट्टाई व्यवसाय गर्न चाहने अन्य व्यवसायीहरूलाई गर्मी मौसममा बट्टाईको संख्या घटाउन र जाडोमा बढाउन सल्लाह दिए । त्यसो गर्दा फाइदा नै हुने उनले बताए ।

अहिले उनीले बट्टाईसँगै लोकल कुखुरा, गिरीराज कुखुरा र सानो चल्लाहरू पालेका छन् । तिनीहरूको बिक्री पनि राम्रै भएको उनले बताए ।

तर पहिले जस्तो राम्रो बजार नभएको उनी बताउँछन् । ‘गाउँमा मानिसहरू रित्तिइसके । बेच्ने नै गाउँमा हो,’ उनले भने । उनले कुखुरा पालनको व्यवसायले गुजारा मात्रै चलेको बताए ।

उनको बुबा-आमा, दुई छोराहरू र पत्नी सहित ६ जनाको परिवार रहेका छन् । यसअघि उनी वैदेशिक रोजगारका लागि ओमन गएका थिए । उनले त्यहाँ कन्स्ट्रक्सनमा काम गरेर १० वर्ष बिताए ।

त्यसबेलासम्म उनी परिवारहरूबाट टाढा नै रहे । उनले कहिल्यै छोराहरूसँग राम्ररी समय बिताउन पाएनन् । उनी विदेशमा रहे पनि छोराहरूलाई सहरमै पढाए ।

उनले पछि छोराहरूले पनि विदेशमा दुःख गर्न जान नपरोस् भनेर नेपालमै व्यवसाय सुरु गरे । ‘मेरो सोच भनेको चैँ मेरो छोराले मैले जस्तै दुख नपाओस् । यही केही गरेर जीविकोपार्जन होस्, नेपालेमै होस् भन्ने हो ।’

उनलाई सुरुमा यस क्षेत्रमा भिज्न निक्कै समय लागेको थियो । तर बिस्तारै सिक्दै जाँदा यही व्यवसाय गरेर उनले छोराहरूलाई पढाइरहेको बताए । योसँगै अर्का व्यवसायी विष्णु पार्वती अर्ग्यानिक कृषि फार्म प्रा.ली.का सञ्चालक विष्णु सुनुवारले पनि केही वर्ष अगाडि आफूले बट्टाई पालेको तर विभिन्न रोगहरू लागेर घाटा व्यहोर्नु परेको गुनासो गरे ।

तस्बिरहरू : 

       

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *