गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली काँग्रेसले पूर्वसभापति तथा शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोईरालाको शताब्दी जन्मजयन्तीको अवसरमा फोटो प्रदर्शनी गर्ने भएको छ ।

काँग्रेसले अगामी असार १८ गते पूर्वसभापति गिरिजाप्रसाद कोईरालाको शताब्दी जन्मजयन्तीको अवसर पारेर फोटो प्रदर्शनी गर्ने भएको हो ।

बुधवार पत्रकार सम्मेलन गर्दै केन्द्रिय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा फोटो प्रदर्शनी गर्न लागिएको जानकारी गराइएको हो ।

‘क्रान्तिदेखि शान्तिसम्म’ नाम दिइएको फोटो प्रदर्शनीमा १५० वटाभन्दा बढी फोटोहरु रहने केन्द्रिय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए ।

फोटो प्रदर्शनीमा क्रान्तिको समय, शान्तिकालिन समय र शान्ति प्रक्रियाको समयलाई प्रतिविम्वित गर्ने फोटोहरु राखिने उनले बताए ।

नेपालको शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोईराला लगायतका नेपाली काँग्रेसका नेताहरुले खेलेका भुमिकालाई फोटोमा उतार्ने प्रयास गरिएको उनले बताए ।

उनले पार्टीको केन्द्रिय कार्यालयकै सभाहलमा हुने फोटो प्रदर्शनीका लागि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, विभिन्न पार्टीको अध्यक्ष तथा शिर्ष नेताहरुदेखि कुटनीतिक क्षेत्रका व्यक्तिहरुलाई पनि निमन्त्रणा गरिएको जानकारी दिए ।

बिहान ११ बजेदेखि शुरु हुने फोटो प्रदर्शनी राति ११ बजेसम्म चल्ने उनले बताए ।

फोटो प्रदर्शनीको अलावा क्रान्तिदेखि शान्तिसम्म, समुन्नतिको दोस्रो जग, फोटो पत्रकारिताः जोखिम र अनुभव विषयमा विमर्श पनि गरिने उनले जानकारी दिए ।

क्रान्तिदेखि शान्तिसम्मको विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला र एमालेका नेता प्रदीप ज्ञवालीले विमर्श गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *