भूमिगत आन्दोलनका महिलाहरूको अनुभव दस्ताबेजीकरण गरिँदै

काठमाडौँ । भूमिगत आन्दोलनका महिलाहरूको अनुभवलाई दस्ताबेजीकरण गरिने भएको छ ।

बिहीबारबाट काठमाडौंमा नेपालमा २०४६ साल भन्दा पहिला नेपाल कम्युनिष्ट पार्टी, एमालेमा संगठित भएर भूमिगत हिसाबले काम गरेका महिलाहरूको तथ्यांक सङ्कलन गरी व्यवस्थित गर्ने काम सुरु गरिएको हो ।

कार्यक्रमबारे जानकारी गराउँदै नेकपा एमालेकी नेतृ विन्दा पाण्डेले कार्यक्रमको मूल उद्देश्य विगतमा पञ्चायतको विरुद्ध बहुदलीय व्यवस्था स्थापनाको लागि महिलाहरूले दिएको योगदानको दस्ताबेजीकरण गर्नु रहेको बताइन् । उनले कतिपय महिलाहरूले जीवनको बलिदानी गर्नुपरेको र कतिपयले आन्दोलनका लागि लडेको कुरा दस्ताबेजसहित व्यवस्थित गर्ने काम सुरु भएको उल्लेख गरिन् ।

उनले दस्तबेजीकरणले भावी पुस्ता र अध्ययनका लागि पनि महत्वपूर्ण हुने जिकिर गरिन् । उनले कार्यक्रममा ३० जना बढी पञ्चायतको विरुद्ध बहुदलीय व्यवस्था स्थापनाको लागि आन्दोलनरत महिलाहरूको उपस्थिति रहेको बताइन् । ३० जना बाहेक छुटेका महिला र भूमिगत भई सूचिमा नरहेका महिलाहरूको खोजी हुने बताइन् । आजबाट नै काम सुरु भएकाले आगामी एक वर्ष भित्रमा इतिहासलाई समेटेर पुस्तक सार्वजनिक गर्ने बताइन् ।

उनले भनिन् ‘नेपालमा २०४६ साल भन्दा पहिला नेपाल कम्युनिष्ट पार्टी, मालेमा संगठित भएर भूमिगत हिसाबले काम गर्नुभएका जति पनि महिला साथीहरूको बीचमा आज उपत्यकामा उपलब्ध भएको र बाहिरबाट आउनसक्ने केही साथीहरूको बीचमा छलफल भएको हो । हाम्रो मूल उद्देश्य भनेको विगतमा पञ्चायतको विरुद्ध बहुदलीय व्यवस्था स्थापनाको लागि महिलाहरूले ठूलो योगदान गरेका थिए । कतिपयले बलिदानी पनि गरेका थिए । तर त्यो कुरा आजसम्म पनि व्यवस्थित हिसाबबाट दस्ताबेजीकरण भएको छैन । त्यसले गर्दा त्यो कुरालाई इतिहासमा दस्ताबेजीकरण गर्ने हो भने भविष्यका पीढीलाई अध्ययन सामग्री पनि हुनेछ र कतिपयलाई प्रेरणाको श्रोत पनि हुनेछ । आज ३० जना महिलाहरू भूमिगत जानुभएको सूचि प्राप्त छ । कतिपय छुट्नुभएको छ । आज उपस्थिति भएका साथीहरूबाट सूचि पूरा गर्नेछौँ । उहाँहरुले कसरी काम गर्नुभयो, कस्ता समस्या झेल्नुभयो, त्यसमा महिला विशेष समस्या कसरी झेल्नुभयो । कस्ता काम गर्दा महिलाले विशेष तरिका अपनाउनु भयो भन्नेकुरा सुन्छौँ । उहाँहरूको इतिहासलाई पुस्तक आकारमा बाहिर ल्याउनेछौँ ।’

उनले आन्दोलनका क्रममा महिलाहरूले गरेका काम, झेल्नुपरेका समस्या, काम गर्दा अपनाएका तरिकाहरूका बारेमा छलफल हुने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *