महामन्त्रीले दिएको प्रतिवेदनलाई गम्भीरतापूर्वक अध्ययन गर्छौं : रास्वपा सांसद खनाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले महामन्त्री मुकुल ढकालले पार्टी सभापति समक्ष पेश गरेको समीक्षा प्रतिवेदनलाई गम्भीरताका साथ अध्ययन गरिने बताएका छन् ।

बहिबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खनालले पार्टी कमजोर भयो कि भन्ने आवाज पार्टीभित्र उठेकाले नै महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाइएको बताए । उनले महामन्त्रीलाई पार्टीको अवस्था पत्ता लगाउनका लागि नै यात्रामा पठाइएको उल्लेख गरे । उनले प्रतिवेदनको गम्भीरतापूर्वक अध्ययन गरिने र निष्कर्ष निकालिने बताए ।

उनले भने – ‘स्वाभाविक रुपमा अहिले चारैतिर हामी कमजोर भयौँ कि भन्ने आवाजहरू हाम्रै पार्टी पंक्तिका साथीहरूले नभनेका कुरा चाहिँ होइनन् । महामन्त्रीले जुन प्रतिवेदन हिजो सभापतिलाई बुझाउनुभयो, इलामको निर्वाचनपछि पार्टी सचिवालयले यही कुरा पत्ता लगाउन भनेर पार्टीले नै उहाँलाई खटाएको हो । उहाँ स्वेच्छाले भन्दापनि पार्टीको नेतृत्वले नै केही भइरहेको छ कि ? केही समस्या छ कि भनेर पत्ता लगाउन खटाएको हो । उहाँले केही कुरा पत्ता लगाएर ल्याएको छु भनेपछि स्वाभाविक रुपमा त्यसलाई हामीले अत्यन्त गम्भीरतापूर्वक अध्ययन गर्छौं । अध्ययनको आधारमा निष्कर्षहरू आइसकेपछाडि अनि थप प्रतिक्रिया राख्नु उचित हुन्छ होला ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीको राजनीतिक अवस्थाको समीक्षा गर्न भन्दै गत जेठ ६ गतेदेखि समीक्षा यात्रा सुरु गरी ३८ जिल्ला पुगेर गरेको समीक्षा प्रतिवेदन बुधवार सभापति रवि लामिछानेलाई बुझाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *