राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भयो : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भएको बताएकी छन् ।

बिहीबार काठमाडौंमा नेपाल साहित्यिक पत्रकार संघको १८ औं स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले राजनीति देशको मूल नीति भएपनि आज आएर भ्रष्टीकरणका कारण नाक खुम्चाउने स्थिति भएको बताइन् । उनले राजनीति देशको माउ नीति भएको राजनीति नसुधारीकन अन्य क्षेत्र सुधार गर्छु भनेर सम्भव नरहेको जिकिर गरिन् ।

उनले राजनीतिलाई सुधार गर्न सबैले सोच विचार गर्न आवश्यक रहेको बताइन् । उनले साहित्यिक क्षेत्रबाट पनि राजनीतिक सुधारका लागि आवश्यक काम हुनुपर्नेमा जोड दिइन् । उनले अहिले समाज भ्रष्टीकरणमा गइरहेको बताइन् । उनले सकारात्मक तरिकाले समाज अघि बढाउने जिम्मेवारीलाई पूरा गर्नु सबै नागरिकको दायित्व भएको बताइन् ।

उनले भनिन् ‘आज आएर राजनीति भन्दा किन सबैले नाक खुम्च्याउने विषय बन्दैछ । आखिर राजनीति त देशको मूल नीति हो । यो माउ नीति हो । यो मूल नीति, माउ नीति नसच्चिसम्म यो नसुध्रीकन अरु तमाम क्षेत्र सुधार्छु भनेर सम्भव छैन । त्यसकारण यसलाई कसरी सुधार गर्ने, कसरी अघि बढाउने भन्ने विषयमा हामी सबैले घोत्लिएर सोच्नुपर्ने हो की । हिजो जसरी समाज परिवर्तनमा तपाईँहरूले हामीलाई हात समाएर डो¥याउनुभयो । त्यसैगरी आज पनि आवश्यकता छ । अहिले समाज जुन ढंगले स्खलित भएको छ, जसरी भ्रष्टीकरणमा जान खोज्दैछ । सकारात्मक तरिकाले समाज अघि बढाउने जिम्मेवारी हाम्रो हो । साहित्य क्षेत्रमा लाग्नुभएका व्यक्तिहरूले प्रेरित गर्नुपर्ने हुन्छ ।’

मन्त्री शर्माले सरकारले साहित्यिक पत्रकारितालाई पनि केन्द्रबिन्दुमा राखेर काम गरिरहेको बताइन् । अहिलेको युग सूचना र प्रविधिको युग भएकाले साहित्यलाई पनि सूचना र प्रविधिमैत्री बनाउन जरुरी रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *