उर्जा क्षेत्रको विकासले मुलुकको समृद्धिलाई नयाँ गति दिन्छ : उर्जामन्त्री

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले उर्जा क्षेत्रको विकासले मुलुकको समृद्धिलाई अझ नयाँ गति दिने बताएका छन् ।

शुक्रवार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको स्युचाटारमा निर्माण गरी सञ्चालनमा ल्याएको डाटा सेन्टरको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्राधिकरणले निर्माण गरेको विद्युत वितरण प्रणाली नियन्त्रण सेन्टर र अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टरको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले विद्युत् वितरण प्रणाली नियन्त्रण सेन्टर र अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टरको निर्माण नेपालको ऊर्जा क्षेत्रलाई थप स्मार्ट बनाउन अर्को महत्वपूर्ण पाइला भएको बताए ।

मन्त्री बस्नेतले ऊर्जा व्यवस्थापन, सञ्चालन र प्राधिकरणको सेवालाई स्वचालित तथा आधुनिक बनाउन अर्को महत्वपूर्ण उपलब्धी हासिल भएको उल्लेख गरे । उनले उर्जा क्षेत्रको विकास सँगसँगै उर्जा क्षेत्रको व्यवस्थापन मुख्य चुनौति रहेको बताए ।

उनले नेपाल विद्युत प्राधिकरण उर्जा व्यवस्थापनलाई सबल, सक्षम र सुदृढ रुपमा सञ्चालन गरिरहेको बताए ।

उनले उर्जा क्षेत्रले निर्वाह गरिरहेको भुमिकालाई व्यापक बनाउन, व्यवस्थित बनाउन डाटा सेन्टरले महत्वपूर्ण भुमिका खेल्ने बताए ।

उनले भने– ‘उर्जा क्षेत्रको विकासले मुलुकको समृद्धिलाई अझ नयाँ गति दिने, अझ अघि बढाउने कुरामा थप योगदान पुग्ने कुरा स्वतःस्पष्ट छ । उर्जा क्षेत्रको विकास सँगसँगै उर्जा क्षेत्रको व्यवस्थापनको मुख्य भुमिका निर्वाह गरिराखेको नेपाल विद्युत प्राधिकरण आफैँमा पनि सबल, सक्षम र सुदृढ बन्दै गइरहेको छ । यो एउटा थप दृष्टान्त हो । हामीले अहिले डिजिटल एनइएको कुरा गरिरहेका छौँ । एनइए अन्तर्गत एउटा डाटा सेन्टर, एड्भान्स डाटा सेन्टरको जसरी व्यवस्थापन हुन गइरहेको छ । मलाई लाग्छ, हाम्रो उर्जाको समग्र व्यवस्थापनमा एनइएको भुमिकालाई यसले थप प्रभावकारी बनाउने नै छ । समग्र मुलुकको उर्जा व्यवस्थापनमा यसले थप योगदान गर्नेछ । हामीले उर्जा सेक्युरिटीको कुरा गरिरहेका छौँ । इनर्जी फर डेभलपमेण्ट, फर प्रस्परेटिको कुरा गरिरहेका छौँ । यो सबै क्षेत्रमा उर्जा क्षेत्रले निर्वाह गरिरहेको भुमिकालाई व्यापक बनाउन, व्यवस्थित बनाउन डाटा सेन्टरले भुमिका खेल्ने विश्वास लिएको छु ।’

कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणका लागि डिजिटाइजेशन इनिसिएटिभको लागि कोशेढुंगा सावित हुने बताए । कार्यकारी निर्देशक घिसिङले विद्युत प्राधिकरणको डिजिटाइजेशन एउटा कोशेढुंगाको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

उनले डेटा सेन्टर बिना प्राधिकरण अघि बढ्न नसक्ने अवस्थामा रहेको भन्दै अब त्यो समस्या सिर्जना नहुने बताए ।

विगत ७ वर्षअघि प्राधिकरण अप्रेशनको हिसावले कमजोर स्थितिमा रहेको र अहिले पनि सिस्टम अप्रेशनमा गुणस्तरीयतामा पूर्ण नरहेको बताए । उनले विद्युतीय क्षेत्रको समग्र डिजिटाइजेशनको शुरुवात डाटा सेन्टरसँग सबै क्षेत्र समेटेर अघि बढ्ने हिसावले हद्धि बढेको बताए ।

प्राधिकरणले थ्रि फेज स्मार्ट मिटर देशभर नै रिप्लेस गरिसकेको बताउनु भयो । सिंगल फेज स्मार्ट मिटर पनि पाइलटको रुपमा करिव १ लाख मिटर सम्पन्न गरिसकेको बताए । देशभर नै स्मार्ट मिटर रिप्लेसमेण्ट गर्नेगरी प्रोजेक्ट अघि बढाइरहेको बताए ।

प्राधिकरण भित्रको बिलिङ सिस्टम, पेमेण्ट सिस्टम सबैलाई अटोमेसनमा लैजाने गरेर परिवर्तन गरिरहेको बताए । उनले प्राधिकरण भित्रको सबै प्रणालीलाई डिजिटाइट गरेर डिजिटल एनइए स्थापित गर्ने कार्यक्रम अघि बढिरहेको बताए ।

उनले देशभरको सबस्टेशन, जनेरेशन प्लान्ट, युनिटहरु सबैलाई इन्टिग्रेट गर्नेगरी स्काडा एक्सपान्सनको प्रोजेक्ट अघि बढिरहेको बताए । घिसिङले सेवा प्रवाहलाई स्वचालित, आधुनिक बनाई विद्युत प्रणाली सुधार्न ‘डिजिटल एनइए’अन्तर्गत धेरै कामहरु अगाडि बढाइएको उल्लेख गरे ।

उनले डिजिटल एनइएमार्फत सूचना प्रविधिको प्रयोगमार्फत प्रशासन लागत घटाउने, कर्मचारीको दक्षता वृद्धि गर्ने, विद्युत आपूर्तिलाई भरपर्दो तथा विश्वसनीय बनाउने कामहरु भइरहेको बताए ।

प्राधिकरणले आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न डिजिटल एनइए कार्यक्रम अन्तर्गत निर्माण गरिएको यो मोडलको डाटा सेन्टर नेपालमै पहिलो हो ।

सञ्चालनमा ल्याइएको नयाँ डाटा सेन्टरमा ४० वटा सूचना प्रविधि र्याका रहेका छन् । जसमा ३६ वटा सर्भर र ४ वटा नेटवर्क ¥याक छन् ।

टियर ३ मापदण्डका लागि तोएिका सर्तहरु पूरा गर्न आवश्यक व्याकपसहितको अविच्छिन्न विद्युत् आपूर्ति (एन प्लस वान पावर सप्लाई), चिस्यान (कुलिङ), स्वचालित अग्नि नियन्त्रण, सिसिटिभी निगरानी, सञ्चालन तथा सुरक्षाको अनवरत निगरानी लगायतको व्यवस्था गरिएको छ । अविछिन्न विद्युत् आपूर्तिका लागि वहुवैकल्पिक व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *