टि–२० विश्वकपको उपाधि भारतलाई, ७ रनले चुक्यो दक्षिण अफ्रिका

टि–२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ। दक्षिण अफ्रिकालाई ७ रनले निराश बनाउँदै भारतले उपाधि चुमेको हो।

यसअघि एक दिवशीय विश्वकपमा फाइनमा पुगेर पनि उपाधिमा चुकेको भारतले टि २० को उपाधि भने दोस्रो पटक जितेको हो।

भारतले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सक्यो । योसँगै पहिलोपटक फाइनल पुगेको दक्षिण अफ्रिका उपाधिबाट भने वञ्चित हुन पुग्यो ।

अन्तिम ५ ओभरअघिसम्म खेल दक्षिण अफ्रिकाको पक्षमा ढल्किएको थियो। १५ औं ओभरमा २४ रन जोडेपछि उसलाई बाँकी ६ ओभरमा मात्रै ३० रन चाहिएको थियो। तर लगातार खराब ब्याटिङ गर्दा उपाधि गुमाउन पुग्यो।

अन्तिम ओभमा १६ रन आवश्यक रहे पनि उसले मात्रै ८ रन बनायो। त्यसअघिका ४ ओभरमा मात्रै १४ रन जोड्दा उपाधि कठिन बन्दै गयो।

दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले अर्धशतकीय इनिङस खेले । २७ बलको सामना गर्दै २ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, क्वीनटन डी ककले ३१ बलमा ३९ रन जोडे । उनले ४ चौका र १ छक्का हिर्काए । त्यस्तै, ट्रिस्टन स्टब्सले २१ बलमा ३१ रनको योगदान दिए । डेभिड मिलरले १७ बलमा २१ रन बनाए।

भारतका लागि हार्दिक पाण्ड्याले ३ विकेट लिए । उनले ३ ओभर बलिङ गर्दै मात्र २० रन खर्चिए । अर्शदीप सिंह र जसप्रित बुमराहले २–२ विकेट हात पारे । अक्षर पटेलले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो ।

भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए। उनले ५९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। अक्षर पटेलले ३१ बलमा ४७ रन बनाउँदै भारतको रन उकासेका थिए। उनले ४ छक्का र एक चौका प्रहार गरेर रनआउट हुन पुगे।

सुरुमै धमाधम विकेट गएपछि दबाबमा परेको भारतलाई विराटले नै सम्हालेका थिए। शिवम दुवेले १४ बलमा २७ रन बनाए। उनले ३ चौका र एक छक्का प्रहार गरे।

कप्तान रोहित शर्मा ९ रनमा आउट हुँदा सुर्यकुमार यादवले मात्रै ३ रन जोडे। रभिन्द्र जडेजा २ रनमा आउट हुँदा हार्दिक पाण्डे ५ रनमा नटआउट रहे।

दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच नोर्टजेले २–२ विकेट लिए । त्यस्तै, मार्को यानसेन र कागिसो रबाडाले १–१ विकेट हात पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *