सरकारमा भागबन्डा

भागबन्डा मिलाउन सुदूरपश्चिमका मुख्यमन्त्रीले फुटाए ४ मन्त्रालय

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले भागबन्डा मिलाउन मन्त्रालय फुटाएको छ ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले चार मन्त्रालय फुटाएर भागबन्डा मिलाएका छन् । उनले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएका हुन् ।

सोडारीले मन्त्रालय फुटाएर विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी समेत दिएका छन् ।

भौतिक पूर्वाधारलाई फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको छ भने सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा युवा तथा खेलकुद र स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय बनाइएको छ ।

यस्तै, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालयका महाशाखा एक अर्कामा गाभ्दै नयाँ मन्त्रालय बनाइएको छ । जसमा वन वातावरण तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि सुधार मन्त्रालय, उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला मन्त्रालयलाई भने यथावत् राखिएको छ ।

मन्त्रालय फुटाएसँगै मुख्यमन्त्री सोडारीले आइतबार नै विना विभागीय मन्त्रीको कार्य विभाजन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *