तराईमा सुख्खा मौसमले दूध उत्पादनमा कमी

मकवानपुर । सुख्खा मौसमले तराईमा दूध उत्पादन घट्दा हेटौँडा दुग्ध वितरण आयोजनाको दूध सङ्कलन प्रभावित भएको छ ।

सो आयोजनाले केही महिना अघिसम्म तराई क्षेत्रबाट दैनिक २२ देखि २३ हजार लिटरसम्म दूध सङ्कलन गर्दै आएको थियो । सोही अवधिमा विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक १२ हजार लिटर दूध पठाउँदै आएको थियो ।

हाल दैनिक छ हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ । सङ्कलित दूध वीरगञ्ज, हेटौँडा र भरतपुरका उपभोक्ताले दैनिक चार हजार लिटर खपत गर्ने गरेको आयोजनाले जनाएको छ ।

मधेस प्रदेशको सर्लाही, बारा, रौतहट, पर्सा र बागमतीको मकवानपुरसमेत गरी करिब दुई सय दूध उत्पादक सहकारी संस्थाबाट आयोजनाले दैनिक दूध खरिद गर्दै आएको छ । आयोजनाले तराईका चार जिल्ला र बागमतीको मकवानपुर गरी करिब १२ हजार कृषकबाट दैनिक छ हजार लिटर दुध खरिद गरी मासिक रु एक करोड ५० लाख रकम भुक्तानी दिने गरेको हेटौँडा दुग्ध वितरण आयोजनाका प्रमुख राजिव खनालले जानकारी दिए ।

आयोजनाले दैनिक एक हजार लिटर दही, एक हजार किलो घ्यू, एक हजार पाँच सय किलो मखन उत्पादन गर्छ । लालमोहन, पेडा र रसवरी छ सय किलो उत्पादन गर्दै आएको छ । उत्पादित दही, घ्यू, मखन र मिठाइहरू आयोजनाले हेटौँडा, वीरगञ्ज र भरतपुरका उपभोक्तालाई बिक्री गर्ने गरेको आयोजनाले जनाएको छ ।

हेटौँडा दुग्ध वितरण आयोजनाले बागमती प्रदेशको दूध विकास बोर्ड हेटौँडालाई धुलो दूध उत्पादन गर्न दुई देखि तीन दिनको अन्तरमा दुई हजार लिटर दूध पठाउने गरेको छ । बोर्डलाई दूध नपठाइएको दिनमा दुई हजार लिटर दूध आयोजनाले दही, मखन, घ्यू उत्पादनका लागी खपत गर्दै आएको आयोजना प्रमुख खनालले जानकारी दिए ।

तराईमा बर्सात भएसँगै केही दिन पछिबाट दूध उत्पादन वृद्धि हुने आयोजनाको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *