साँगाको पुल तर्न लगाइयो शुल्क, नगरपालिका भन्छ- इन्टरटेनमेन्टको पैसा लिनुपरेन ?

भक्तपुर र काभ्रेपलान्चोकको दोसाँधमा कैलाशनाथ महादेव मन्दिर अवस्थित छ । उपत्यका नजिकै भएकाले धरै आन्तरिक तथा बाह्य पर्यटकहरू साँगामा कैलाशनाथ महादेवको दर्शन गर्न पुग्छन् । यस मन्दिरमा प्रवेश गर्नका लागि भक्तहरूले रु १०० का दरले टिकट काट्नुपर्ने हुन्छ । मन्दिरमा पुग्नका लागि वैकल्पिक मार्ग पनि रहेको छ । उक्त वैकल्पिक मार्ग सूर्यविनायक नगरपालिकाको वडा नं. ९ र १० को सिमाना साँगामा बनाइएको झोलुङ्गे पुल हो ।

कैलाशनाथ महादेव मन्दिर पुग्ने यस झोलुङ्गे पुल तर्न सर्वसाधारणले २० रुपैयाँको टिकट काट्नुपर्ने हुन्छ । सरकारको कूल १ करोड १६ लाखको लागतमा निर्माण गरिएको यस पुललाई नगरपालिकाले वार्षिक ३६ लाख रुपैयाँमा रविचन्द्र कन्स्ट्रक्सनलाई ठेक्कामा दिइएको छ ।

नगरपालिकाको वडा नं. ९ र १० का स्थानीयले पुल प्रयोग गरेबापत शुल्क तिर्नु पर्दैन । सूर्यविनायक नगरपालिकाका बासिन्दालाई भने ५० प्रतिशत छुट रहेको छ । यस बाहेकका सर्वसाधारणले भने पुल तर्न प्रतिव्यक्ति  २० रुपैयाँ शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ ।

नगरपालिकाले शुल्क उठाउन गरेको यस निर्णयप्रति आन्तरिक तथा बाह्य पर्यटक वा सर्वसाधारणहरू सन्तुष्ट देखिँदैनन् । उनीहरूले सरकारी बजेटबाट बनेको पुलमा सर्वसाधारणले शुल्क तिर्नुपर्ने भन्दै असन्तुष्टि जनाएका छन् ।

भक्तपुर बस्दै आएका रोशन तामाङ स-परिवारका साथ शुक्रबार कैलाशनाथ महादेव मन्दिरमा दर्शन गर्न पुगेका थिए ।  उनीहरू पहिलो पटक साँगाको महादेव मन्दिरमा दर्शन गर्न पुगेका हुन् । उनले सरकारको लगानी रहेको झोलुङ्गे पल तर्दा शुल्क तिर्नुपर्ने कुरा चित्त नबुझेको भन्दै टिकेट काउन्टरमै कुरा गरेको बताए ।

उनले भने ‘यो पुल सरकारी लगानीमा बनेको हो । यो मन्दिरभित्र छिर्न पनि पैसा तिर्नुपर्छ, बाइक बाटोमा पार्किङ गरेको पनि ३० रुपैयाँ तिर्नुपर्ने रहेछ । पार्किङ स्थल सुरक्षित पनि छैन् । यो त कमाउने धन्दा जस्तो भयो ।’

उनले मन्दिरमा प्रवेश गर्न, झोलुङ्गे पुल तर्न र बाटोमा पार्किङ गर्दा पनि सुल्क तिर्नुपर्ने भन्दै असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘अचम्म छ, पुल सबैले आवतजावत गर्नुपर्ने बाटो हो, यो हामीले तिरेको करबाट बनेको हो त्यसैले शुल्क नलिएको जाति । मन्दिरमा आएको पनि २०० रुपैयाँ तिर्नुपर्ने रहेछ । हामी उताबाट नआएर यताबाट आएका हौँ । मन्दिर भनेको जो कोही आउने ठाउँ हो, यसलाई प्राथमिकता दिनुपर्छ । ‘

उनले सर्वसाधारण आवतजावत गर्ने पुल र मन्दिरमा प्रवेश शुल्क लिँदा झोलुङ्गे पुल र मन्दिरलाई कमाइ खाने भाँडो बनाएको बताए । उनले जनताले तिरेको करबाट बनेको पुलमा सर्वसाधारणलाई सुल्क लिनु उचित नभएको बताए ।

त्यस्तै अर्का सर्वसाधारण यज्ञराज विष्ट पनि काठमाडौँ चाबेलबाट महादेव मन्दिरको दर्शन गर्न साँगा पुगेका थिए । उनले सरकारको लगानीमा बनेको पुलमा शुल्क लिनु उचित नभएको बताए । काठमाडौँ उपत्यकाको नजिकै भएकाले पुलमा धेरै मान्छेको भिड लाग्ने र पुल चाँडै छिटै जीर्ण हुने भएकाले रिकभर गर्नलाई सुल्क उठाएको हुनसक्ने उनको अनुमान छ ।

उनले भने, ‘स्थानीय सरकारले नउठाउनु पर्ने हो । हुन त एकजना मान्छेको लागि २० रुपैयाँ केही होइन । तर २० रुपैयाँबाटै ठूलो रकम बन्छ । यो पुल सरकारी भएकाले शुल्क नलिएकै राम्रो ।’

काठमाडौँ बस्दै नवराज लामिछाने आफ्ना श्रीमतीसँग मन्दिरको दर्शन गर्न साँगा आइपुगेका छन् । उनले मन्दिर जानका लागि झोलुङ्गे पुल तर्दा २०/२० रुपैयाँको टिकट काटेको बताए । त्यसो त उनी पहिले पनि यस मन्दिरमा आइरहन्थे । तर पुलमा कहिलेदेखि शुल्क लिन सुरु गरेको उनलाई थाहा छैन । उनले सरकारी लगानीमा बनेको थियो भने चैँ सुल्क लिनु उचित नभएको बताए । ‘सरकारको लगानी थियो भने त पैसा तिर्नू पर्दैन थियो जस्तो लाग्छ । कसैले बिचमा खाइ रहेको जस्तो नि लाग्छ ।’

सूर्यविनायक नगरपालिकाका स्थानीय अप्सरा विक पनि नगरपालिकाको यस कार्यप्रति असन्तुष्ट छिन् । उनले भनिन् ‘खासमा शुल्क लिन नहुने हो । सरकारी पुल हो ।’ उनले स्थानीय बासिन्दा र चिनेको मान्छेलाई टिकट नलाग्ने बताइन्। ‘जे होस् स्थानीय र चिनेको मान्छे छ भने शुल्क तिर्नु पर्दैन ।’ उनले भनिन् ।

स-परिवारसहित युपी भारतबाट नेपाल घुम्न आएका भारतीय पर्यटकहरू पनि महादेव मन्दिर दर्शन गरेर फर्किरहेका बेला भेटिए । उनीहरूले सरकारले बनाएको पुलमा सुल्क उठाउनु जरुरी भएको बताए ।

उनले भनिन्, ‘म एउटा कुरा भन्न चाहन्छु । टिकटको पैसा धेरै छैन । जहाँसम्म मलाई थाहा छ । नेपालमा उद्योग कम छन् । पर्यटनकै सहायताले यहाँको इनकम हुन्छ । पैसा लिइरहेका छन् भने नराम्रो पनि होइन । म चाहन्छु कि नेपाल धेरै अगाडि बढोस् । यहाँको मान्छेहरू पनि एकदमै राम्रो हुनुहुन्छ ।’ उनले नेपालमा उद्योग धन्दा कम भएकाले पर्यटकलाई सुल्क लिनु नराम्रो पनि नभएको बताइन् ।

साथीभाइ र आफन्तसँग मन्दिरमा दर्शन गर्न आएकी अर्का सर्वसाधारण सुस्मिता तामाङले पुल बनाउन कतैबाट अनुदान आए पनि सरकारको लगानीमा बने पनि सुल्क लिनु उचित नभएको बताइन् । उनले भनिन्, ‘यो कतैबाट आए पनि । सरकारबाट आए पनि लिनु त नपर्ने हो । अघि भरखर हामी यही कुरामा डिसकस गरेर आएका हौँ ।’

के भन्छ सूर्यविनायक नगरपालिका ?
सूर्यविनायक नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाका अनुसार साँगाको झोलुङ्गे पुल बनाउँदा खेरि नै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले बनाइएको थियो । उनले त्यहाँ खोला नभएको र सो पुल खोला तर्ने पुल नभएको समेत जानकारी दिए । उनले भने, ‘त्यहाँ खोला छैन, त्यो खोला तर्ने पुल होइन, पर्यटन प्रवर्धन गर्नका लागि बनाइएको पुल हो । पर्यटकीय पुल हो ।’

उनले काठमाडौँ उपत्यकाका मानिसहरूलाई आकर्षित गरेर पर्यटन प्रवर्धन गर्न उक्त झोलुङ्गे पुल बनाइएको बताए । ‘यहाँका स्थानीयवासी तल्लो गाउँ र वल्लो गाउँ हिँड्छन् भने चैँ शुल्क लाग्दैन,’ उनले भने, ‘दाइने तर्फ ९ नं वडा पर्छ, देब्रेतिर १० नं वडा पर्छ । उनीहरू कसैलाई शुल्क पर्दैन ।’

रविचन्द्र कन्स्ट्रक्सनका एक कर्मचारीले आफू त्यहाँको स्थानीय भएको र आफूले सबै स्थानीयलाई चिन्ने बताए । सोही आधारमा स्थानीयलाई छुट दिएको उनको भनाई छ ।

प्रवक्ता सापकोटाले पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पुल बनाइएको हुँदा पुल टिकाइराख्नु आवश्यक भएको बताए । उनले त्यसका लागि १२, १३ रुपियाँ उठाउँदा फरक नपर्ने बताए । उनले थपे, ‘सरकारले बनाइदिएर मात्र हुँदैन मर्मत, सम्भार गर्नुपरेन र । इन्टरटेनमेन्ट मानिसहरू जानुहुन्छ, त्यो इन्टरटेनमेन्टको पैसा लिनुपरेन ?’

उनले उक्त शुल्क कुनै व्यक्ति, क्लब वा संस्थाले नउठाई नगरपालिकाले नै टेन्डर लगाएर उठाएको जानकारी दिए । उनले त्यो पैसा नगरपालिका लाई जाने र त्यही क्षेत्रको विकाशको लागि खर्च हुने बताए । ‘अनि ट्याक्स उठाउँदैन त मनोरञ्जनको लागि भनेर’ उनले भने ।

उनले उक्त शुल्कबाट नै हाल साँगामा सिडी, ट्वाइलेट र अन्य कामहरू भइरहेको बताए । उनले त्यस पुलबाट कर उठाएर नै समग्र विकाश गरेको बताए । उनले पुल तर्ने सर्वसाधारणहरूका सुरक्षाका लागि इन्स्योेरेन्स पनि गरिएको बताए । निश्चित क्षमताभन्दा बढी मानिसहरू पुलमा जान नदिने उनको भनाई छ ।

यसअघि पनि तनहुँको मादी नदीमाथि बनाइएको पुल तर्दा रु १० शुल्क तिर्नु पर्ने, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको दोदा नदीमा स्थानीय काठे पुल प्रयोग गरेबापत साइकलको रु १० र मोटरसाइकलको रु ३० शुल्क तिर्नुपर्ने र कैलालीको भजनी नगरपालिकाका स्थानीयवासीले कान्द्रालगायतका नदी तर्दा ३० रुपैयाँ तिर्नुपरेको खबरहरूका सुन्नमा आइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *