दूध दिउन्जेलसम्म गाई, दिन छोडेपछि बाईबाई !

काठमाडौँ । शुक्रबार बिहानीको करिब ६ बजेको समय थियो । भक्तपुर सल्लाघारी चोङ्गा गणेश मन्दिर नजिकैको सडकमा म कलेज बस पर्खँदै थिए । बिहानीको समयमा मन्दिरमा पूजा गर्ने, मर्निङवाक गर्ने र सवारी चलाउने चालकहरूको आवतजावत बिस्तारै बाक्लिँदै थियो ।

त्यसैबेला सल्लाघारी सपिङ्ग कम्प्लेक्स नजिकैको सडक जाम भयो । गुडिरहेको सवारीहरू एका एक रोकिए । चालकहरू आक्रोशित मुडमा देखिन्थे । उनीहरू चर्को आवाजमा हरण बजाउँदै गाली गर्न थाले । त्यस कोलाहलमा मैले उनीहरूको आवाज भने स्पष्ट बुझ्न सकिन् ।

मलाई पनि उनीहरू त्यसरी रिसाउनुको कारण जान्न मन लाग्यो । त्यसैले  सवारी जाम भएतिर अघि बढे । नजिकै गएपछि थाहा भयो सडक जाम हुनुको कारण त साना दुई गाईका बाछाहरू पो रहेछन् । एउटा कालो, अर्को खेरो बाछा ।

ती बाछाहरू मानिसले जस्तो बोल्न सक्दैनन् । मानिसले बोलेको भाषा पनि उनीहरू बुझ्न सक्दैनन् । त्यसैले होला ती साना बाछाहरू चालकहरूले बजाएको हर्नको आवाजले त्रसित बन्दै यताउता भाग्न खोज्दै थिए । तर हर्नको चर्को आवाजले उनीहरू सडकमै अलमलिएर बसे । यसरी सडकमा छाडिएको दुई बाछाका कारण सवारी जाम हुन पुगेको रहेछ ।

सल्लाघारी नजिकै डेरा गरि बस्दै आएका रामेछापका तोरण सुनुवारले केही हप्तादेखि ती दुई बाछाहरू उसैगरी सडकमा बस्दै आएको बताए । उनले भने, ‘दिन होस् या रात यी दुई बाछाहरू यही रोडमा बस्छन् ।’

उनका अनुसार बाछाहरू भोक र प्यास लाग्दा वरपरका पसलहरूमा जान्छन् । दया र माया लाग्ने कोही कोहीले खानेकुरा दिन्छन् भने प्रायले ढुङ्गाले हानेर वा पानीले छ्यापेर भगाइदिन्छन् ।

उनले बाटामा हिँड्ने कोही कोही बटुवाहरूले भने दयालाग्दो अवस्थामा बसेका बाछाहरूप्रति सहानुभूति प्रकट गर्दै ‘बिचरा’ भन्ने गरेको बताए । उनले केही समयको लागि बाछाहरू प्रति सहानुभूति प्रकट गरेपनि एकछिन पछि बिर्सने र आफ्नो बाटो लाग्ने बताए । उनले भने,  ‘मानिसहरूसँग ती बाछाहरूको वास्ता गर्ने समय नै छैन ।’

मानिसहरूसँग बाछाहरूको वास्ता गर्ने समय नै नभएको उनको भनाई छ । पछिल्लो समयमा सहर बजारमा गाई पालन व्यवसाय गर्ने किसानहरूले दूध आउन्जेल गाई पाल्ने र दूध दिन छाडेपछि सडकमा लगेर छाडिदिने गरेका छन् । गाईले बाछा जन्मायो भने पनि तिनीहरूलाई कतै टाढा लगेर छाडिन्छ ।

अर्की भक्तपुरमा बस्दै आएकी ओखलढुङ्गा निवासी सेती राईले गाउँमा बाछालाई गोरु बनाएर खेत जोत्न उपयोग गरिने तर सहरमा खेत नै नभएको र खेत भएपनि जोत्ने जाँगर नभएको बताइन् ।

उनले सहरमा गोरुको उपयोगिता नभएकाले त्यत्तिकै छाडा छोड्नु पर्ने अवस्था आएको गुनासो गरिन् । उनले भनिन्, ‘यदि गाउँघरमा हो भने त बाछालाई ठुलो भएपछि गोरु बनाएर खेत जोताउने गरिन्थ्यो । तर अब यता त न जोत्नको लागि खेत छ, न मान्छेहरूलाई खेत जोत्ने जाँगर नै छ ।’

केही दिन पछिको कुरा हो, बेलुकीको समयमा करिब ८ बजेको थियो । म कामबाट घर फर्कँदै थिए, सल्लाघारीमा मैले देखेको उहीँ बाछो सडक छेउमा लम्पसार परिरहेको थियो । त्यस बाछाको शरीर रगतले लतपतिएको थियो ।

मैले नजिकैको पानीपुरी बेच्दै गरेको सुभद्रा खड्का दिदीलाई त्यसबारेमा सोधे । दिदीले भनिन्, ‘तपाईँ आइपुग्नु भन्दा ५ मिनेट अगाडि एउटा स्कोरपियोले बसिरहेको ठाउँमा गाईको टाउकोमा किचेर गयो ।’

उनले उक्त स्करपियोले गाइलाई किचेपछि फर्केर पनि नहेरेको बताइन् । त्यसपछि दिदीले भनिन्, ‘यहाँ मान्छे मारेर त केही नहुने ठाउँमा गाई मारेर के फरक पर्नु ।’ उनले गाडीको नम्बर पनि टिप्न नभ्याएको बताइन् । मैले गाई मरिसकेको ठानेर दयनीय भावमा त्यसलाई नियालेर हेरेँ ।

त्यसले टिल्ल आँखा खोलेर मै तिर हेरिरहेको थियो । मैले सुभद्रा दिदीसँग पानी मागेर बाछोको मुखमा हालिदिँदै टाउकोमा बिस्तारै मुसारी दिए । त्यसपछि बाछोले बिस्तारै आँखा चिम्लियो । त्यसदिन एक निमुखा जनावरको चेतनशील भनिने प्राणीबाट हत्या भयो ।

गाई नेपालको राष्ट्रिय जनावर हो । गाईलाई नेपालमा लक्ष्मी माताको रुपमा पुज्ने गरिन्छ । तर हाम्रो समाजमा गाईको भरपूर्ण उपलब्धि लिइसकेपछि यत्रतन्त्र छोड्ने गरेको पाइन्छ । जसकारणले सडकमा गाई-बाछाको दुरावस्था र दुर्घटना समेत हुने गरेको छ । आजभोलि गाई पालन व्यवसायमा देखिएको यस्तो प्रवृत्ति समाजमा समस्या बन्दै गएको छ ।

यस समस्या भक्तपुरको सल्लाघारीमा मात्र होइन, राधेराधे, ब्यासी र निलबाराही जस्ता अन्य ठाउँहरूमा पनि देखिन्छ । जसकारण सवारी साधनहरू आवतजावत गर्न पनि निकै समस्या हुने गरेको छ ।

नेपालमा पशुपन्छीको आरक्षण तथा सुरक्षाका लागि नेपाल पशु विभाग र अन्य संघसंस्था खोलिए पनि उनीहरूको काम र कारबाहीहरू प्रभावकारी ढंगबाट अगाडि बढेको देखिँदैन । त्यसकारण निर्दोष र निमुखा पशुहरूको अझैपनि उद्धार र व्यवस्थापन हुन सकेको छैन । यो समस्या भक्तपुरमा मात्र नभएर समग्र राष्ट्रमा नै व्याप्त रहेको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *