व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत

बागलुङ । जिल्लाको जैमिनी नगरपालिका–६ अर्जेवाका चन्द्रबहादुर थापाले व्यावसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत गरिरहेका छन् ।

मलेसियामा पाँच वर्ष रोजगारी गरेर स्वदेश फर्केपछि ४१ वर्षीय थापाले ‘चन्द्रबहादुरको जिमिरे बाख्राफार्म’ मार्फत व्यावसायिक बाख्रापालन गर्दै आएका हुन् ।

आमा मनरुपा थापाले गाउँलेको अधियाँ लिएर बाख्रापालन गरी घर खर्च गर्दै आएको देखेकाले विदेशबाट फर्किएर फार्म दर्ता गरी व्यावसायिक बाख्रापालन सुरु गरेको थापाले बताए । चार वर्षदेखि उक्त व्यवसायमा लागेको भन्दै उनले सबै खर्च कटाएर वार्षिक चार लाख बचत भइरहेको जानकारी दिए ।

चन्द्रबहादुरको जिमिरे बाख्राफार्म अहिले यस क्षेत्रको नमुना बाख्राफार्मका रुपमा चिनिन थालेको छ । व्यावसायिक बाख्रापालनमा आमाको प्रेरणा रहेको बताउँदै उनले बाख्रापालनमा बजारीकरणको समस्या नरहेको उल्लेख गरे ।

थापाका अनुसार अहिले फार्ममा तीन वटा परम्परागत खोरमा ७५ बाख्रा र पाठा छन् । ‘आमाले अधियाँमा बाख्रापालन गरेको देख्दा बाख्राफार्म सञ्चालन गर्ने रहर थियो । लगानी अभावमा भएकाले पाँच वर्ष मलेसियामा कमाएर आएपछि सोही रकम बाख्रापालनमा लगानी गरेको हुँ’, उनले भने ।

अहिले दुई सय बाख्रा क्षमताको आधुनिक खोर निर्माणमा जुटेको जनाउँदै थापाले आमाले अधियाँमा पालन गरिरहेका बाख्रालाई आफूले व्यावसायिक बनाएको बताए । ‘लगानी नहुँदा १६ वर्ष पहिला मलेसिया पुगेँ । विदेशमा कमाएको रकमले बाख्रापालन थालेको हुँ । आमाको दुःख देखेकाले आफू बाख्रा उद्यमी सपना देखेको थिएँ, अहिले पूरा गर्ने चरणमा छु’, उनले भने ।

एक वर्षभित्रै दुई सय बाख्रा पुर्‍आउने उद्देश्यले अहिले आधुनिक खोर निर्माण थालेको थापाले जानकारी दिए । ‘आधुनिक खोर निर्माणमा १० लाख लगानी भइसक्यो’, उनले भने, ‘बाख्रापालनबाट खर्च कटाएर वार्षिक चार लाख बचत हुन्छ । स्थानीय जातका खसी, बोका हुने भएकाले स्थानीय व्यापारीले लागि खोजी–खोजी लैजान्छन् ।’ एक वर्षमा तीस वटा बोका बिक्री गर्दै आएको जनाउँदै थापाले सरकारी निकायबाटसमेत बाख्रापालिलाई प्रोत्साहन प्राप्त भइरहेको बताए ।

पहिला गाउँलेका बाख्राका पाठा लिएर अधियाँमा हुर्काउने र पाठा बाढेपछि बिक्री गरी जीविकोपार्जन गर्दै आएकामा अहिले छोराले व्यावसायिक रुपमा फार्म दर्ता गरी बाख्रापालन गरेको देख्दा निकै उत्साहित भएको आमा मनरुपाले बाताइन् । छोराले बाख्रापालिलाई बढाउँदै बचत भएको रकमबाट लगानी वृद्धि गरिरहेको उनीको भनाइ छ ।

‘बाख्रापालनमा मेहनत गर्न सके प्रशस्त आम्दानी हुनसक्ने रहेछ । आम्दानीका लागि विदेश जानु भन्दा स्वदेशमा परिवारसँगै बसेर मेहनत गर्न सकिन्छ भन्ने उदाहरण छोराले दिएको छ’, मनरुपाले भनिन्, ‘परम्परागत रुपमा पाल्दै आएको बाख्रापालिलाई अहिले छोराले व्यवसायिकता दिएको छ ।’ उनीका अनुसार तीन वटा परम्परागत शैलीका खोरमा बाख्रापालन गर्दै आएकामा अहिले आधुनिक खोर निर्माणको अन्तिम चरणमा पुगेको छ ।

बाख्रापालनको खोर सुधारका लागि भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले एक लाख १९ हजार र जैमिनी नगरपालिकाले २३ हजार अनुदान दिएको चन्द्रबहादुरले जानकारी दिए । घाँसमा आधारित पशुपालनबाट उत्पादन लागत घट्ने र आम्दानी बढ्ने भएकाले स्थानीय जातका बाख्रा पालनलाई जोड दिइएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *