नृत्यकला प्रस्तुत गर्न ‘नव्य नाचघर’ सञ्चालन

काठमाडौँ । नृत्यकला प्रस्तुत गर्ने उद्देश्यले सिनामङ्गलमा ‘नव्य नाचघर’ सञ्चालन हुने भएको छ । एस्थेटिक डान्स स्टुडियोले उक्त नाचघर सञ्चालन गर्न लागेको हो ।

डान्स स्टुडियोका प्रमुख नम्रता केसीले असार २१ गते ‘प्रेमारम्भ’ शीर्षकमा नृत्यनाटिका प्रस्तुत गरेर नाचघरको उद्घाटन गरिने जानकारी दिइन् । प्रेमारम्भको निर्देशन र नाट्य परिकल्पना केसी आफैले गरेकी छन् । भारतको लखनउबाट कत्थक नृत्य विधामा स्नातकोत्तर गरेकी उनीले नृत्य प्रशिक्षण गराउँदै आएकी छन् । नृत्यकला प्रस्तुत गर्ने उपयुक्त स्थानको अभाव भएकाले नाचघर स्थापना गर्न लागेको उनीले बताइन् ।

कत्थक पछिल्लो समय युवामाझ लोकप्रिय बन्दै गएको भारतीय शास्त्रीय नृत्य विधा हो । उनीका अनुसार मनोरञ्जनका विभिन्न क्षेत्रमध्ये, नाटक, फिल्म, साहित्य विधा जस्तै पछिल्लो समय कत्थक नृत्यमा युवाहरूको आकर्षण बढ्दो । नाटकको नियमित मञ्चन भएझैँ अबदेखि नाचघरले नियमित रुपमा नृत्यकला प्रस्तुत गर्ने जनाएको छ । ‘हरेक शुक्रबार र शनिबार नृत्यको नियमित शृङ्खला सुरु गर्ने भएका छौँ’, उनीले भनिन्, ‘जहाँ कत्थक र अन्य नृत्य शैली प्रस्तुत गर्नेछौँ ।’ उद्घाटनको दिनदेखि सुरु हुने ‘प्रेमारम्भ’ नृत्यनाटिका यही असार २१ देखि भदौ २९ गतेसम्म मञ्चन हुनेछ ।

नाचघरमा एस्थेटिक डान्स स्टुडियोका विद्यार्थीले नृत्य देखाउनेछन् । नृत्यकार दिपीका खतिवडाले नृत्यघरको अभाव हुँदा कला प्रस्तुत गर्ने पालो नपाइने अवस्था रहेको बताइन् । ‘ठूला र महँगा नाचघरमा नृत्य देखाउँदा खर्चिलो हुने भएकाले कला देखाउने ठाउँको अभाव थियो, हामी कलाकारलाई सस्तो र सुलभ नृत्यघरको अभाव छ,’ उनीले भनिन्, ‘एस्थेटिक डान्स स्टुडियोले नृत्यघर खोलेर कलाकारको प्रतिभा फुल्ने मन्दिर दिएको महसुस भएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *