सांसदहरूको प्रतिक्रिया- प्रधानमन्त्री फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण सोच

काठमाडौँ । नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले प्रधानमन्त्री र मन्त्रीहरू फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण सोच भएको बताएका छन् ।

सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पाण्डेले महिना महिना दिनमा हुने उथलपुथलले राजनीति र व्यवस्थालाई फाइदा नपुग्ने बताएका हुन् । उनले एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाएर अर्को व्यक्ति प्रधानमन्त्री बन्ने कुराका लागि मात्रै दुई दल मिल्नु निकृष्ट र संकिर्ण सोच भएको बताए । संविधान संशोधन गर्न र सत्तालाई स्थिर ढंगले चलाउने उद्देश्यसहित दुई दल मिल्नु राम्रो हुने उनको भनाई छ ।

उनले भने – ‘महिना महिना दिनमा हुने उथलपुथलले राजनीतिलाई, राजनीतिज्ञहरूलाई व्यवस्थालाई केही कुरालाई पनि फाइदा हुँदैन । म चाहिँ रोमाञ्चित हुन्न । दुई वटा दल मिल्ने कुरा फेरि कसैलाई प्रधानमन्त्रीबाट हटाएर अर्कोलाई स्थापित गर्ने । मन्त्रीहरू परिवर्तन गर्ने कुरामा मात्रै आधारित भयो भने त्यो झन् निकृष्ट र संर्किण सोचबाट निर्देशित प्रयत्न हो भन्ने लाग्छ मलाई । संविधान बदल्नु छ, कानुनहरू बदल्नु छ, सत्तालाई स्थिर ढंगले चलाउनु छ, बाँकी रहेको ३ वर्षलाई स्थिर शासन दिने ध्येयले ठुलो उद्देश्यले एक ठाउँमा उभिने कुरा गरेभने, देशको अर्थतन्त्र कमजोर छ, राजनीति अस्थिरता छ । त्यसकारण देशको अर्थतन्त्रलाई पनि सुदृढ बनाउँछौ । देशको राजनीतिलाई स्थिर बाटो दिन्छौँ भन्ने कोणबाट समझदारी हुनसक्यो भने त्यसलाई नराम्रो मान्न मिल्दैन । तर केवल सत्ताको अदलबदलमा मात्रै आधारित भयो भने त्यो संर्किण सोचले राजनीतिलाई पनि ठिक बाटोमा लाँदैन ।’

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले संविधान संशोधन लगायतको विषयमा सझादारी बन्यो भने काँग्रेस एमालेको सहकार्य हुनसक्ने बताए । उनले केवल सत्तामा मात्रै आधारित नभई मुद्दामा आधारित भएर अगाडी बढ्नुपर्ने बताए ।

उनले भने – ‘हामी मुद्दामा आधारित हुनुपर्छ । सरकार परिवर्तन हुनुमात्रै महत्वपूर्ण होइन । यो सरकार दिगो हुनुपर्छ र दीर्घकालीन रुपमा काम गर्ने वातावरण हुनुपर्छ । अब सत्ताको लागि सत्ता होइन कि त्यसको दिगोपन, के–के मुद्दामा सहमति हुने रु निर्वाचन प्रणालीले स्थायित्वमा समस्या आयो भन्ने कुरा छ । यी सबै कुरामा समझदारी बन्यो भने अगाडी बढ्नसक्छ । कुराकानी हुनु अस्वाभाविक होइन । तर हामी सत्तामा जानका लागि मात्रै केन्द्रित भएर गर्दैनौँ ।’

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले एमाले वर्तमान सरकारलाई मजबुत बनाएर लैजाने पक्षमा रहेको बताए । उनले एमाले सरकार अदल बदलको पक्षमा नरहेको बताए । उनले भने – ‘एमाले यो सरकारलाई मजबुत बनाएर लैजाने पक्षमा छ । सरकार अदल बदल गरेर त्यसको नेतृत्व परिवर्तन गर्ने खेलमा एमाले छैन । सरकारलाई मजबुत बनाएर लैजानुपर्छ ।’

नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले नेताहरुबिचको भेटवार्ताले सत्ता समीकरणमा फेरबदल नआउने बताए । उनले आज नै वर्तमान सत्ता समीकरणलाई नै मजबुत बनाएर लैजाने विषयमा प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भद्र सहमति भएको जिकिर गरे ।

उनले भने – ‘प्रधानमन्त्रीको पहलमा सरकारलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने, समीकरणलाई बचाउने, सहकार्यलाई निरन्तरता दिने र ०८४ सम्म नै समीकरण अगाडी बढाउनुपर्छ । सरकार सञ्चालनमा चाहिँ यही समीकरणलाई मजबुत बनाएर जाऔँ भनेर बालुवाटारमा भद्र सहमति पनि भएको छ दुई नेताहरूका बीचमा । त्यसकारण तरंगित भइराख्नुपर्ने आवश्यकता देखिँदैन । सत्ता समीकरणमा फेरबदल आउने परिस्थिति देखिँदैन ।’

उनले प्रधानमन्त्री दाहाल वर्तमान सत्ता समीकरणलाई नै ०८४ सालसम्म लानका लागि प्रयत्नरत रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *