हामी ऋणको पासोमा पर्दैनौं : अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले अन्य देशको तुलनामा मुलुकको सार्वजनिक ऋणको अवस्था सुविधाजनक रहेको र देश ऋणको पासोमा पर्ने कुनै गुञ्जायस नरहेको स्पष्ट गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद रुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्रीले देशले लिएको ऋणको लागतसमेत कम रहेको बताए । ‘ऋणको लागत र जोखिमको दृष्टिकोणबाट हाम्रो देश अन्य मुलुकको तुलनामा सुविधाजनक अवस्थामा छ ।

हालसम्मको सार्वजनिक ऋणको परिमाण र लागतलाई दृष्टिगत गर्दा मुलुक ऋणको पासोमा पर्ने कुनै सम्भावना छैन’, अर्थमन्त्री पुनले भने, ‘सार्वजनिक ऋण परिचालन गर्दा ऋणको दिगोपना कायम गर्नेतर्फ सरकार संवेदनशील रहेको छ । सार्वजनिक ऋणलाई उत्पादनशील क्षेत्रमा उपयोग गर्दै जानेतर्फसमेत सरकार सचेत छ ।’

अर्थमन्त्री पुनका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म देशको सार्वजनिक ऋण ९८ अर्ब आठ करोड थपिएर २३ खर्ब ९७ अर्ब पुगेको छ । वि.सं २०८० असारमसान्तमा सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड थियो । हाल देशको कूल गार्हस्थ्य उत्पादनको अनुपातमा सरकारले तिर्न बाँकी ऋण ४२ दशमलव ०२ प्रतिशत छ । तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ४८ करोड र बाह्य ऋण १२ खर्ब १२ अर्ब ९५ करोड छ ।

चालु आर्थिक वर्षको वैशाखसम्म १० सम्ममा सरकारले आन्तरिक ऋणतर्फ एक खर्ब ९१ अर्ब र बाह्य ऋणतर्फ ७३ अर्ब ६३ करोड ३६ लाख गरी जम्मा दुई खर्ब ६४ अर्ब ६३ करोड ३६ लाख सार्वजनिक ऋण परिचालन गरेको अर्थमन्त्री पुनले बताए । उक्त अवधिमा सरकारले आन्तरिक ऋणतर्फ एक खर्ब ३५ अर्ब ६२ करोड ३३ लाख र बाह्य ऋणतर्फ ३० अर्ब ९३ करोड ११ लाख गरी जम्मा एक खर्ब ६६ अर्ब ५५ करोड ४४ लाख सावाँ भुक्तानी गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले गत वैशाख १६ र १७ गते सम्पन्न तेस्रो लगानी सम्मेलनको उपलब्धिबारे पनि अर्थमन्त्रीले जानकारी दिएका छन् । लगानी सहजीकरणका लागि कानुन संशोधन भएको, १९ वटा परियोजनाको आशयपत्र माग गरिएको, परियोजना बैंकलाई अद्यावधिक गरिएको, अन्तर्राष्ट्रिय जगत्मा नेपाललाई उत्कृष्ट लगानी गन्तव्यका रूपमा प्रस्तुत गरिएको उनले बताए ।

आगामी आर्थिक वर्षको बजेट विनियोजनमा संसद्मा आलोचना भएको सन्दर्भमा पनि अर्थमन्त्रीले सरकारको बचाउ गरे । मन्त्रालयगत बजेट विनियोजनमा ठूलो अन्तर तथा असमानता देखिएको र समन्यायिक बजेट वितरण हुन नसकेको विषय उठेका छन्’, अर्थमन्त्रीले भने, ‘सरकारले बजेट विनियोजन गर्दा सम्बन्धित निकायको काम, कर्तव्य, कार्यक्षेत्र र अधिकारका आधारमा विनियोजन, कार्यान्वयन दक्षता र वित्तीय अनुशासन कायम हुनेगरी समन्यायिक प्रणालीअनुसार नै बजेट विनियोजन गर्ने गरेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *