महामन्त्री ढकालबारे उपसभापति अर्याल- पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले पार्टीको अनुशासनबाट बाहिर जानेलाई कारबाही हुने बताएका छन् ।

सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी महामन्त्री डा. मुकुल ढकालबारे राखेको जिज्ञासामा यस्तो प्रतिक्रिया दिएका हुन् । उनले अहिले केही पनि नभएको र महामन्त्रीलाई दिएको जिम्मेवारी पार्टी सभापति रवि लामिछानेलाई बुझाउनुभएको भन्दै बुधवार बस्ने पार्टी केन्द्रीय कमिटी बैठकले सोबारेमा निर्णय लिने बताए । उनले बैठकमा महामन्त्री ढकालले बुझाएको प्रतिवेदनबारे छलफल हुने बताउँदै पार्टीको अनुशासनबाट बाहिर गएर काम गर्ने जो कसैलाई पनि कारबाही हुने बताए ।

उनले भने ‘केही भएको छैन, उहाँलाई एउटा जिम्मेवारी दिइएको थियो । त्यो जिम्मेवारी पूरा गरेर फर्किनुभएको होला । त्यसकारणले पार्टी सभापतिज्यूलाई बुझाउनुभएको छ । हामी बैठक बस्दैछौँ । पर्सिको बैठकबाट के गर्नुपर्ने हो, त्यो गर्छौं । पार्टीको अनुशासनबाट कोही बाहिर जान्छ भने त्यो कारबाही हुनसक्छ, त्यो मलाई पनि, उहाँलाई पनि, सभापतिलाई पनि सबैलाई लागू हुनेकुरा हो । हामीले प्रतिवेदन पढेका छैनौँ । पार्टी सभापति र लेख्ने मान्छेलाई मात्रै थाहा छ । त्यो हेरिसकेपछि मात्रै, छलफल गरिसकेपछि आफ्नो धारणा बनाउँछौँ ।’

उनले आफूले प्रतिवेदन नपाएको प्रतिवेदन पाएर अध्ययन गरेपछि मात्रै आफ्नो धारणा बनाउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *