नयाँ सरकारमा जाने/नजानेबारे निर्णय गर्दै रास्वपा, ओलीले पनि डाके सचिवालय बैठक

काठमाडौं । कांग्रेससँग सत्ता समीकरणको सहमतिपछि नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमालेले दिउँसो ३ बजे बस्ने गरी सचिवालयको बैठक बोलाएको हो ।

बैठकमा कांग्रेस र एमालेबीच भएको नयाँ सत्ता समीकरणको सहमतिका विषयमा छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने कि मन्त्रीहरूलाई राजीनामा गराउने भन्ने विषयमा छलफल हुनेछ ।

उपमहासचिव ज्ञवालीले नयाँ सरकार गठनको प्रक्रिया पनि आजैबाट अघि बढ्ने बताए । ‘नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्छ,’ उनले भने, ‘पहिले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि मन्त्रीहरूलाई राजीनामा गराउने भन्ने विषय टुंगो लगाउँछौँ ।’

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक पनि बस्दैछ । बैठक केही समयपछि सुरु हुने बताइएको छ ।

सिंहदरबारमा बस्ने बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । नयाँ सत्ता समीकरण बन्ने भएसँगै सो बारेमा पनि छलफल हुने बताइएको छ । राष्ट्रिय सहमतिको सरकार बनाउने नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएसँगै उक्त सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने निर्णय पनि बैठकले गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *