प्रचण्डले बोलाए पदाधिकारीको आकस्मिक बैठक, राजीनामा कि विश्वासको मतको सामना ?

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । कांग्रेस र एमालेबीच सत्ता समीकरणका लागि सहमति भएसँगै प्रधानमन्त्री प्रचण्डले पार्टीको पदाधिकारी बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केहीबेरमा बस्ने पदाधिकारी बैठकमा कांग्रेस र नेकपा एमालेबीच सरकार बनाउने सहमति भएको विषयमा छलफल हुनेछ । एमालेले समर्थन फिर्ता लिए राजीनामा दिने कि के गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्डसँग ‘राजीनामा दिने कि विश्वासको मत लिने’ दुई विकल्व छन् ।

दुई ठूला दल मिलेपछि वैकल्पिक सरकार गठनको सम्भावना नरहेकाले राजीनामा दिएर राजनीतिक कदम चाल्न उपयुक्त हुने माओवादी केन्द्रको बझाइ छ । राजीनामा दिएमा नयाँ सरकार गठनको बाटो खुल्नेछ । नत्र एमालेका मन्त्रीहरुले राजीनामा दिएर सरकारमाथिको समर्थन फिर्ता लिनुपर्नेछ ।

त्यसो गर्दा प्रचण्डले एक महिनाभित्र विश्वासको मत लिन पाउने सुविधा संविधानले दिएको छ । तर कांग्रेस र एमाले मिलेको अवस्थामा विश्वासको मत लिने प्रक्रियामा जानु उपयुक्त नहुने भएकाले प्रचण्डले त्यो बाटो नलिने अनुमान नेताहरुको छ ।

एमालेले भने सुरुमा मन्त्रीहरूलाई राजीनामा गराउने र त्यसपछि प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिए समर्थन फिर्ता लिने रणनीति लिएको छ । त्यसका लागि एमालेले दिउँसो ३ बजेका लागि सचिवालयको बैठक बोलाएको छ ।

तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने प्रचण्ड नेतृत्वको सरकार तत्काल नछाड्ने रणनीति बनाएको छ । सत्ताको प्रमुख घटक नेकपा एमाले प्रचण्ड सरकारबाट बाहिरिए पनि रास्वपाका मन्त्रीले राजीनामा नदिने भएका हुन् । रास्वपा स्रोतका अनुसार रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई अन्तिमसम्म साथ दिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *