एमाले–कांग्रेस मिलेर सरकार बनाउने कुरा संवैधानिक छैन : माओवादी केन्द्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले काँग्रेस—एमाले मिलेर सरकार बनाउने कुरा संवैधानिक नभएको जिकिर गरेका छन् ।

मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले दुई दलबीचको सहमति अप्रत्याशित भएको र संवैधानिक नरहेको बताए । उनले लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित भएर काँग्रेस र एमालेबीच सहमति नभएको बताए ।

देशका पहिलो र दोस्रो ठूलो पार्टी मिलेर बन्ने भन्नेकुरा नै प्राकृतिक नभएको जिकिर उनको थियो । काँग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा अग्रगमनतिर भन्दा पश्चगमनतिर जाने संकेत देखापरेको बताए ।

‘हामीलाई के लागेको छ भने अप्रत्याशित रुपमा जुन खालको घटनाक्रमहरु अघि आएका छन् । यो त्यति स्वभाविक र संवैधानिक छैन । लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित भएर आएको जस्तो लाग्दैन,’उनले भने,‘देशका पहिलो र दोस्रो ठूलो पार्टी मिलेर बन्ने भन्नेकुरा नै प्राकृतिक जस्तो लाग्दैन । बाहिर कुरा आइरहेको छ, संविधान संशोधनसम्मका कुरा छन् । संविधान संशोधनमा पनि समानुपातिकका कुरा छन् । अग्रगमनतिर भन्दा पश्चगमनतिर जाने संकेत देखापरेको छ । यो बेठिक छ ।’

प्रवक्ता सापकोटाले सामाजिक न्याय र सुशासनमा सरकारले राम्रोसँग काम गरेको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *