नेपाल लाइफको २३औँ र २४औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको २३औँ र २४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा असार १८ गते होटल भिष्वा, वीरगन्ज, पर्सामा उक्त सभा सम्पन्न भएको हो ।

यस अवसरमा सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत भएका आ.व २०७८/७९ र आ.व २०७९/८० को वार्षिक कार्य प्रगति प्रतिवेदनहरू छलफल गरि पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व २०७८र७९ र आ.व २०७९/८० को वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आ.व २०७९/८० को लागि लेखापरीक्षक एस.ए.आर. एशोसिएट्सलाई गरिएको नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गरिएको छ । यस सभाले आ.व २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ । साधारण सभाले आ.व २०७९/८० को वितरण योग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पुँजीको २१.०५ प्रतिशत (कर प्रयोजनसहित) का दरले हुन आउने १,७२,७९,९२,९४९ बराबरको नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । यसका साथसाथै साधारण सभाले सञ्चालक समितिमा संस्थापक समूह (क) का सेयर धनीहरूबाट ३ जना सञ्चालक, सर्वसाधारण समूह (ख) का सेयर धनीहरूको तर्फबाट ३ जना सञ्चालक तथा १ जना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधन प्रस्ताव पारित गरिएको छ ।

अध्यक्ष गोविन्द लाल संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यावसायिक हिस्सा र गरिमालाई तमाम चुनौतीहरू बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नवीन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रीकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि अर्को सुनौलो यात्रा तर्फ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कम्पनीले आफ्नो व्यापार र सेवामा अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डलाई अवलम्बन गरिरहेको बताएको छ । कम्पनीको निरन्तर विकासको लागि दीर्घकालीन रणनीति निर्माण गर्न, Learning Management System लाई प्रभावकारी बनाउन, ग्राहकलाई थप स्तरीय सेवाको अनुभूति गराउन, Automation को प्रयोगबाट समयको बचत र लागत घटाउन भविष्यमा कम्पनीलाई डिजिटल रुपमा रूपान्तरण गर्न कार्य आरम्भ गरिसकिएको जनाएको छ ।

साथै, कम्पनीले  Risk Management Framework  तयार गरी व्यवसायसँग सम्बन्धित जोखिमहरूको समेत उचित व्यवस्थापन गरिरहेको जानकारी गराएको छ ।

सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघइले साधारण सभामा सेयर धनीहरूले राखेको सुझावहरूलाई सकारात्मक रूपमा लिइने बताउँदै  कम्पनीको विकासमा योगदान पुयाउने सबैमा धन्यवाद ज्ञापन गरे ।

कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले सेयर धनीहरूबाट प्रस्तुत भएका जिज्ञासा तथा सुझावहरूको सन्दर्भमा सञ्चालक समितिको धारणा प्रस्तुत गर्दै सेयर धनीहरूको सकारात्मक सुझावहरूलाई कम्पनीको विकासको निम्ति अवलम्बन गर्न सदैव तयार रहेको बताए ।

२३औँ र २४औँ वार्षिक साधारण सभामा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आ.व. २०७८/७९ र आ.व २०७९/८० मा आएका चुनौतीहरूलाई अवसरहरूमा परिणत गरी हासिल गरिएका व्यावसायिक उपलब्धि र भावी योजनाहरू बताए । देशको अर्थतन्त्र साथै व्यावसायिक क्षेत्र संकटान्मुख अवस्थामा रहेको परिस्थितिमा पनि यस कम्पनीले कुल बीमाशुल्क आर्जनका आधारमा आ.व २०७८/७९ मा नेपालको समग्र जीवन बीमा बजारको २५.५९ प्रतिशत र आ.व २०७९/८० मा २६.०६ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको जानकारी गराए ।

चुनौतीपूर्ण बजार परिस्थितिमा पनि कर्मचारी, अभिकर्ता एवं सरोकारवालाहरूको साथ सहयोगले एक भरपर्दो, विश्वसनीय र उत्कृष्ट कम्पनीको  रुपमा स्थापित भई निरन्तर उच्चतम तथा Operating Income  प्रतिफल दिन सफल भएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।

२०८१ जेठ मसान्त सम्ममा यस कम्पनीको लगानी रु २००.५४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १८९ अर्ब १८ करोड रुपैयाँ र सेयर धनी कोष ११ अर्ब ६६ करोडभन्दा बढी रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल १ सय ९३ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु २५९.८३ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने रु ७८.७६ अर्ब दाबी भुक्तानी गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २४ वटा बीमा योजना अन्तर्गत ३५,५२,४१४ बीमालेख जारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *