समृद्धि ल्याउनसके मात्रै शान्ति प्रक्रिया साँचो अर्थमा टुंगिन्छ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायलाई टुंग्याउँदै राजनीतिक स्थायित्वको जगमा आर्थिक विकास र समृद्धि ल्याउनसके मात्रै शान्ति प्रक्रिया साँचो अर्थमा टुंगिने बताएका छन् ।

मंगलवार नेपाली काँग्रेसले आयोजना गरेको गिरिजाप्रसाद कोईरालाको १०० औं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले शान्ति प्रक्रियाका विभिन्न आयामहरुमध्ये गणतन्त्र स्थापना गर्ने, राज्यको पुनः संरचना गर्ने, माओवादी लडाकुहरुको व्यवस्थापन काम सम्पन्न भइसकेको बताए ।

अब संक्रमणकालीन न्याय टुंग्याउने कुरा बाँकी रहेकाले सबै राजनीतिक दलहरुको ध्यान सोही कुरामा केन्द्रित रहेको बताए । उनले हिंसा नहुनु मात्रै शान्ति नभएको भन्दै नागरिकहरुले न्यायको महशुस नगरेसम्म दिगो शान्ति हुन नसक्ने बताए ।

उनले भने– ‘हाम्रो शान्ति प्रक्रियाका विभिन्न आयामहरु थिए । संविधानले गणतन्त्र स्थापना गर्ने, राज्यको पुनः संरचना गर्ने, त्यो सम्पन्न ग¥यौँ । माओवादी लडाकुहरुको व्यवस्थापन त्यो पनि सकिएको छ । एउटा विषय बाँकी छ । पीडितलाई न्याय दिनेकुरा । संक्रमणकालीन न्याय टुंग्याउने कुरा त्यसमा हामी सबै लागिरहेका छौँ । क्रान्तिदेखि शान्तिसम्मको कुरा गरिरहँदा शान्ति भनेको हिंसाको अनुपस्थिति मात्रै होइन । हिंसा नहुनु मात्रै शान्ति होइन । जबसम्म नागरिकहरुको न्यायको सन्तुष्टि प्राप्त गर्न सक्दैनन्, दिगो शान्ति हुँदैन । अबको हाम्रो समग्र ध्यान मुलुकको सामाजिक, आर्थिक रुपान्तरण, आर्थिक विकास, देशभित्रै रोजगारी र एउटा यस्तो देश जसले गर्वका साथ काम अघि बढाउने हो भने दिगो शान्ति हुन्छ नभए द्वन्द्व एक ढंगले टुंगिएला तर अर्को ढंगले फेरि देखापर्ने स्थिति हुन्छ । हाम्रो समग्र फोकस संक्रमणकालीन न्याय र राजनीतिक स्थायित्वको जगमा आर्थिक विकास र समृद्धि ल्याउनसके शान्ति प्रक्रिया साँचो अर्थमा टुंगिन्छ ।’

उनले सबैको ध्यान मुलुकको सामाजिक, आर्थिक रुपान्तरण, आर्थिक विकास, देशभित्रै रोजगारीको सुनिश्चिततातर्फ हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *