रविले भ्रष्टाचारका मुद्दामा स्टन्टबाजी मात्र गरे : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कामचलाउ सरकारको अवधि अझै एक महिना बाँकी रहेकाले त्यो समयमा भ्रष्टाचारका फाइल खोल्न चुनौती दिएका छन् ।

उनले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत भ्रष्टाचारका मुद्दामा खाली स्टन्टबाजी मात्र नगर्न आग्रह गर्दै यस्तो चुनौती दिएका हुन् । फाइल खोले आफूले साथ दिने उनले स्पष्ट पारेका छन् ।गृहमन्त्री लामिछानेले मंगलवार नै भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बेचन झा पक्राउ परेपछि कांग्रेस-एमालेमा बेचैनी आएर नयाँ गठबन्धन बनाइएको आरोप लगाएका थिए ।

सिंहदरबारस्थित आफू नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एकाएक संविधान जोगाउनुपर्ने अवस्था नआएको बरु केही भ्रष्ट र अपराधी जोगाउनुपर्ने अवस्था आएको व्यंग्य गरेका थिए ।

राप्रपा प्रवक्ता शाहीले यसैको जवाफ दिएका हुन् । यस क्रममा उनले भिडियो र टेलिफोन रेकर्ड हुँदाहुँदै पूर्वसभामुख कृष्णबहादुर महरा र पूर्वराष्ट्रपतिका छोरा दीपेश पुनलाई गृहमन्त्री लामिछानेले चोख्याएर उन्मुक्ति दिएको आरोप पनि लगाएका छन् ।

‘तीन महिना १५ दिनसम्म नखुलेका फाइलहरू अब सरकार ढल्ने बेला खुल्न थालेका रहेछन्, फाइल खुल्ने भए अझै एक महिना यही सरकार हुन्छ । धमाधम खोल्नुहोस् र जेल हाल्नुहोस्, हाम्रो समर्थन छ’, उनले फेसबुकमा लेखेका छन्, ‘होइन भने सिर्फ राजनीतिक स्टन्डबाजी नगरौँ । भिडियो र टेलिफोन रेकर्ड हुँदाहुँदै सुन प्रकरणमा पूर्वसभामुख र पूर्वउपराष्ट्रपतिका पुत्रलाई चोख्याएर उन्मुक्ति दिएको बिर्सनु भो ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *