क्याम्पस प्रमुखको हत्यामा प्रयोग भएको पेस्तोल बरामद

बारा । रामराजामोहन बिक्रम क्याम्पसका तत्कालीन प्रमुख हरिभूषण कुशवाहाको हत्यामा प्रयोग भएको पेस्तोल तथा खरखजानासहित थप एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

बारागढी गाउँपालिका-५ चरमन्तपथरा बस्ने ४२ वर्षीय हरिन्दर महरा चमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए । उनको साथबाट प्रहरीले एउटा कटुवा पेस्तोल, अमेरिकामा बनेको अटोमेटिक पेस्तोल, उक्त पेस्तोलमालाग्ने एक राउण्ड गोली र म्याग्निज एक थान बरामद गरेको प्रहरीले जनाएको छ ।

कुशवाहाको आदर्श कोतवाल गाँउपालिका-३ बतरा र भटिनियाको बीचमा पर्ने मन्दिर अगाडि गत जेठ ३२ गते हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा सात जनालाई पक्राउ गरिसकेको छ । हत्याका मुख्य दोषी भने फरार छन् ।

निजलाई पक्राउ गर्न प्रहरीले मित्र राष्ट भारतका सुरक्षा अधिकारीसँग निरन्तर सम्पर्कमा बसी खोज तलास तीव्र पारिएको प्रहरी प्रवक्ता न्यौपानेले बताए । ‍गोली हान्ने मुख्य दोषी पक्राउ गर्न नागरिक अगुवा, क्याम्पस व्यवस्थापन समिति, कर्मचारी, राजनीतिकर्मी र विद्यार्थीले दबाब दिँदै आएका छन् ।

कुशवाहाको हत्याले सिङ्गो जिल्लामा त्रास फैलिएको छ । बारामा आठ महिना अवधिमा चार जनाको गोली हानी हत्या भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *