चन्द्रागिरि नगरपालिका र एनआईसी बैंकबीच सम्झौता : नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने

काठमाडौँ । चन्द्रागिरि नगरपालिका भित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरि नगरपालिका र एनआइसी एसिया बैंक बीच सम्झौता भएको छ । नगरपालिकाले उक्त कार्यक्रमको बैंकिङ्ग साझेदारको रुपमा एनआइसी एसिया बैंक छनौट गरेको हो ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनिया र चन्द्रागिरि नगरपालिकाको तर्फबाट नगर प्रमुख घनश्याम गिरीले हस्ताक्षर गरेका थिए ।

चन्द्रागिरि नगरपालिकाका अनुसार नगरपालिकाको निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ (संशोधन सहित २०८०) अनुसार नगरपालिका भित्र मिति २०८० श्रावण १ गते वा सो मिति भन्दा पछि जन्मिएका बालबालिकाहरू १८ वर्ष पुगे पश्चात् परिपक्व हुनेगरी निजहरूलाई आर्थिक सामाजिक सुरक्षा कार्यविधि बमोजिम नगरपालिकाबाट यो सुविधा प्रदान गरिने जनाएको छ । नगरपालिकाको कार्यविधि अनुसार यस नगरमा स्थायी बसोबास गर्नेका छोराछोरीहरू यो योजनाबाट लाभान्वित हुन सक्ने र यसका लागि जन्मदर्ता अनिवार्य गरिएको छ ।

चन्द्रागिरि नगरपालिकाले सो अवधिपछि नगरमा जन्मिएका नवजात शिशुहरूको ५–५ हजारका दरले प्रत्येक बालबालिकाको नाममा यस एन आई सी एसिया बैंकमा १८ वर्षे मुद्दती निक्षेप खाता खोलिदिनेछ । यस्ता खातामा अभिभावकले चाहेको खण्डमा थप रकम समेत राख्न सक्ने व्यवस्था गरिएको छ । यस योजनामा सामेल हुने ग्राहकहरूको निक्षेपमा बैंकले अधिकतम ब्याजदर प्रदान गर्नेछ ।

चन्द्रागिरि नगरपालिकामा जन्म लिने बालबालिकाहरू १८ वर्ष पार गर्दै गर्दा उच्च शिक्षा हासिल गर्न अथवा कुनै व्यवसाय सञ्चालन गर्न नगरपालिकाले प्रदान गरेको यस कोषले निकै सहयोगी भूमिका खेल्दै समग्र नगर क्षेत्रको आर्थिक सामाजिक सुरक्षाको प्रत्याभूतिको लागि कोषेढुंगाको भूमिका निर्वाह गर्ने विश्वास गरेको नगरपालिका र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *