एमालेसंगको सहमतीले देशले स्थिर सरकार पाउने भयो : नेता केसी

काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले नेपालको संविधान संशोधन गर्नु आवश्यक भएको बताएका छन् ।

बुधवार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले संविधान संशोधन गर्नु अहिलेको आवश्यकता भएको बताए ।

उनले ०७२ सालमा जारी भएको संविधानले जनताको सर्वोच्चताको प्रतिनिधित्व गरेको भन्दै सो संविधान असफल भयो भने दुर्भाग्यपूर्ण अवस्था आउने बताए ।

‘०७२ को संविधान नेपाली जनताको सर्वोच्चताको प्रतिनिधित्व गर्दै संविधानसभामार्फत निर्मित यो संविधान । यो पनि असफल हुने स्थिति आयो भने देशमा दुर्भाग्यपूर्ण परिस्थिति आउँछ,’उनले भने,‘त्यसकारण यो संविधान भित्रबाट संविधान संशोधन गर्ने र नयाँ निकास दिनेतिर अहिले राष्ट्रले सोच्नुपर्ने आवश्यकता छ ।’

उनले दुर्भाग्यपूर्ण स्थिति आउन नदिन संविधान संशोधन गर्ने र निकास दिनेतिर सोच्नुपर्ने आवश्यकता रहेको बताए । उनले नेपाली काँग्रेस र नेकपा(एमाले)का बीचमा भएको पछिल्लो सहमतीले देशलाई स्थिर सरकार दिने आशा देखाएको बताए ।

उनले आगामी सरकारले आर्थिक सुधारको गतिविधिलाई सामुहिक मिसनको रुपमा लिएर जानुपर्ने बताए । उनले सरकार परिवर्तन केवल मन्त्री बनाउनका लागि मात्रै नभई जनतामा देखिएका असन्तुष्टिलाई सम्बोधन गर्नेगरी हुनुपर्ने बताए ।

‘आर्थिक अवस्थामा देखिएको अनियमिता, भ्रष्टाचारको सीमा नाघेको परिस्थिति छ । र आर्थिक सुधारका गतिविधिलाई सामुहिक मिसनको रुपमा यो सरकारले लिएर जानुपर्छ,’उनले भने,‘सरकार परिवर्तन को मन्त्री हुने ? को प्रधानमन्त्री हुने भन्दापनि अहिले आम रुपबाट जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्नको निम्ति दृढताका साथ हामी अगाडी बढ्नुपर्ने आवश्यकता छ ।’

नेता केसीले संसदको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउँदै गर्दा संसदको प्रतिपक्ष भुमिका कमजोर हुनसक्ने प्रश्न उठ्ने भन्दै प्रतिपक्षी दलहरुले प्रतिपक्षको सशक्त हैसियतलाई जिवन्त राख्न सक्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *