रास्वपामा हलचल

रविले देश बनाउन सक्दैनन्, चरित्रहत्या हुनेगरी हल्ला फैलाउन सक्नुहुन्छ : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले जनताको पक्षमा बोल्दा आफूमाथि कारबाही भएको बताएका छन् । पार्टीले कारबाही गर्दै निलम्बन गरेपछि सामाजिक सञ्जालमार्फत ढकालले बोलेकै आधारमा आफूमाथि निलम्बनको पत्र थमाइएको दाबी गरेका हुन् ।

उनले आफू जनता र सत्यको पक्षमा बोलेको तर्क गरेका छन् । ‘जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारबाही भएको छ । बालहठ जस्तो होस् , अस्वाभाविक लागोस् वा अव्यवहारिक जनताले जसरी बताए त्यसरी नै बताइदिएँ’, उनले भनेका छन्, ‘प्रतिवेदन सार्वजनिक भएपछि पढेर विचार गर्नुहोला नै । जनताको आवाज बोल्दा यो पटक रवि लामिछानेविरुद्ध बोलेको हुन्थ्यो, उहाँ पनि जनताकै पक्षमा होला सोचेर बोलिदिएँ । जनताको पक्षमा बोल्न पर्छ, सत्य त्यही हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ ।’

सभापति रवि लामिछानेले देश बनाउँछन् भन्ने ठानेर कतिपय कुरा गलत लाग्दा लाग्दै पनि आफूले मानिदिएको उनले बताएका छन् । ‘प्रचण्डसँग सहमति गरेर आइसकेपछि, सरकारमा जाने भन्नु भयो । मैले उहाँको आदेश अनुसार प्रस्तुति दिएँ, मैले सोचेँ, मेरो कर्तव्य हो र यो मान्छेले देश बनाउँछ साथ दिनुपर्छ’, उनले भने, ‘तर सरकारमा पुगेपछिका कुराहरूका कारण, मलाई शंका लाग्यो– यो मान्छेले देश बनाउँछ वा बनाउँदैन ।’

पद गौण भएकाले जनताका कुरा बोलिदिँदा कारबाही भए पनि बोल्नुपर्छ भन्ने लागेर आफू बोलेको डा. ढकालको जिकिर छ । ‘अब उहाँको एउटा फेसबुक स्ट्याटस आउन सक्छ । केही परिचालित व्यक्तिहरू छन्, पक्षमा स्ट्याटसहरू लेख्न लगाउन सक्नुहुन्छ,’ उनले अगाडि भनेका छन्, ‘एक स्टेप अघि बढेर मिडियामा (प्रमाण सहित) यो-त्यो भनेर मेरो चरित्र हत्या हुने गरि केही हल्ला फैलाउने प्रयास गर्नुहुन्छ । आज बैठकमै भनिसक्नु भयो, मिडिया क्षेत्रको हेडमास्टर हो म ।’

रास्वपाले कार्यवाहक महामन्त्रीमा कबिन्द्र बुर्लाकोटी र मनीष झा प्रवक्ता तोकेको छ । महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकाललाई कारबाही गर्ने निर्णय गरेसँगै रास्वपाले उनीहरुलाई जिम्मेवारी दिएको हो । बुधबार बसेको केन्द्रीय समितिको बैठकले उनलाई पार्टी अनुशासन विपरीत काम गरेको भन्दै सात दिन निलम्बन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *