नेकपा एसको अध्यक्षका लागि नेपाल र भुसालको दाबी कायमै, मिलाउने प्रयास जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु हुँदैछ । प्रज्ञा भवन कमलादीमा जारी महाधिवेशनले आजसम्ममा नयाँ नेतृत्व चयन गर्ने भएको हो ।

अध्यक्षका लागि माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले दाबी कायमै राखेका छन् । एमालेबाट विद्रोह गरी पार्टी बनाउन आफ्नो भूमिका महत्त्वपूर्ण भएको दाबी गर्दै नेपालले आफ्नो नाममा सर्वसम्मत गराउने प्रयास जारी राखेका छन् । महासचिव भुसालले भने पार्टी रूपान्तरणका लागि नेतृत्व हस्तान्तरणमा जोड दिएका छन्  ।

सहमति नभए अध्यक्षका लागि यी दुई नेताबीच प्रतिस्पर्धा हुनेछ । उपाध्यक्ष बेदुराम भुसालले सर्वसम्मत अध्यक्ष चयन गर्ने प्रयास भइरहेको बताए । महासचिवका लागि उपमहासचिव गंगालाल तुलाधर, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा आकांक्षी छन् ।

महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी निर्वाचन मण्डललाई दिएको छ। मनोनयन दर्ता गर्ने, दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिने समय, मतदानको कार्यसूची बिहीबारलाई तोकिएको छ । पार्टी केन्द्रीय कमिटी, अनुशासन र लेखा परीक्षण कमिटीले निर्वाचन निर्देशिका निर्माण गरेको छ ।

प्रत्येक जिल्लाबाट कम्तीमा एक जना सदस्य केन्द्रीय कमिटीमा प्रतिनिधित्व रहने सुनिश्चितता कायम गरिएको छ । सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५-४५ वर्ष उमेर समूहको आरक्षण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । एक हजार ८४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि प्रशिक्षण दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *