तनहुँमा सवारी चालक अनुमतिपत्रको ट्रायल पुनः सञ्चालनमा ल्याउने तयारी

दमौली । यातायात व्यवस्था कार्यालय तनहुँले यही असार २३ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा पुनः सञ्चालनमा ल्याउने भएको छ ।

गत १ चैतदेखि कार्यालयले परीक्षा स्थगन गरेको थियो । सवारी चालक अनुमतिपत्रका लागि फारम भरेका सेवाग्राहीको ‘बायोमेट्रिक’ सुरु गरिने कार्यालयका निमित्त प्रमुख कमला द्वारेले जानकारी दिइन् ।

तीन महिनासम्म दुई पाङ्ग्रे, चार पाङ्ग्रे, अटोरिक्सा र ट्रयाक्टरको सवारी चालक अनुमतिपत्रका लिखित तथा प्रयोगात्मक परीक्षासम्बन्धी सम्पूर्ण कार्य बन्द थियो । सार्वजनिक जग्गा मिचेर ‘ट्रायल सेन्टर’ बनाएको जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । यसपछि आयोगले तत्कालका लागि प्रयोगात्मक परीक्षा स्थगित गर्न कार्यालयलाई निर्देशन दिएको थियो ।

२७ फागुन २०७८ मा तनहुँमा कार्यालय स्थापना भएको थियो । कार्यालयले वि.सं २०७९ कात्तिकबाट सवारी चालक अनुमतिपत्रको ट्रायल जिल्लाबाटै सुरु गरेको थियो । यसअघि ट्रायलका लागि पोखरा जानुपर्थ्यो ।

कार्यालयले १५ साउन २०७९ देखि लाइसेन्स नवीकरण पनि सुरु गरेको थियो । कार्यालयमा सवारी साधन दर्तासमेत हुन्छ । यसले गर्दा तनहुँ मात्र नभइ गोरखा, लमजुङका सर्वसाधारणलाई पनि सहज भइरहेको छ ।

वि.सं २०७१ देखि यातायात व्यवस्था सेवा कार्यालयको रुपमा काम गर्दै आइरहेको कार्यालय २७ फागुन २०७८ मा यातायात व्यवस्था कार्यालयको रूपमा स्थापना भएको हो ।

सेवा कार्यालयको रूपमा रहँदा सवारी साधन कर सङ्कलन, ‘रुटपरमिट’, जाँचपाससम्बन्धी काम गर्दै आएको कार्यालयले हाल सवारी चालक अनुमतिपत्र वितरण, नवीकरण र सवारीसाधन दर्ता, नामसारी सेवा दिँदै आएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *