मेयर चिरिबाबुलाई अख्तियारले किन बोलायो ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई सोधपुछका लागि बोलाएको छ । बाढीपहिरो पीडितका नाममा महानगरले निर्णय विपरित रकम बाँडेको उजुरी परेपछि उनलाई सोधपुछका लागि बोलाउन भन्दै अख्तियारीले पत्र काटेको हो ।

मेयर महर्जनविरुद्ध उनको अघिल्लो कार्यकालमै बाढीपहिरो पीडितका नाममा निर्णयविपरीत रकम बाँडेको भन्दै अख्तियारमा उजुरी परेको छ । उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णयविपरीत रकम बाँडेको आरोप छ । बुधबार मात्रै ललितपुर महानगरपालिकाले मन्दिरको जग्गा अतिक्रमण भएको भन्दै अख्तियारकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खालमा डोजर चलाएको थियो ।

हेर्नुस् यस्तो छ अख्तियारको पत्रको व्यहोरा

विषयः उपस्थित सम्बन्धमा ।

श्रीमान् नगर प्रमुखज्यू,
ललितपुर महानगरपालिका, पुल्चोक, ललितपुर ।

उपरोक्त सम्बन्धमा २०७७ सालमा आएको बाढी पहिरोबाट ‘धापाखेल -२४ मा बाढीपीडितलाई रु एक लाख पचास हजार र दुई लाख पचास हजार नगर कार्यपालिकाको निर्णयविपरीत नगर प्रमुखले एकलौटी ढंगबाट आर्थिक सहयोगको नाममा रकम बाँडी महानगरपालिकालाई हानि हुने काम गरेको’ भन्ने व्यहोराको यस आयोगमा दर्ता भएको उ.द.न. सी–०३८५९७, मिति २०७८।०३। ३१ को उजुरी अनुसन्धानको क्रममा तपाईंसँग केही कुरा बुझ्नुपर्ने भएकोले तपसिलमा उल्लेखित मिति र समयमा सक्कल नागरिकता र एकप्रति पासपोर्ट साइजको फोटोसहित आयोगको महाशाखा नं. ३ मा उपस्थिति भई अनुसन्धान कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।

तपसिल
मितिः २०८१ असार २६ गते बुधबार
समय : बिहान १०.०० बजे
गणेशप्रसाद घिमिरे अनुसन्धान अधिकृत

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *