मन्त्री जोशीको गुनासो- राजनीतिक अस्थिरताले मन्त्रालयको काम चुस्त ढंगले गर्न सकिएन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले राजनीतिक अस्थिरताका कारण आफूले पनि मन्त्रालयको सबै काम चुस्त ढंगले गर्न नसकेको बताएका छन् ।

काँग्रेस–एमालेबीच नयाँ सत्तासमिकरणका लागि समझदारी भएसँगै उनले सो प्रतिक्रिया दिएका हुन् । बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री जोशीले राजनीतिक अस्थिरताले मन्त्रालयको काम व्यवस्थित ढंगले गर्न पनि व्यवधान खडा गरेको बताए ।

उनले आफूले निजामती सेवा ऐनसम्बन्धी विधेयकलाई छिटो पारित गर्न संसदीय समिति र राजनीतिक दलहरूसँग प्रयास गरेको पनि बताए । मन्त्री जोशीले कर्मचारीहरूको सरुवा छिटो छिटो हुने अवस्था अन्त्य गर्न पनि आफूले सक्दो पहल गरेको बताए ।

उनले भने ‘राजनीतिक अस्थिरताले होला हामीले पनि राम्रोसँग काम गर्न नसकेको कुरा पनि राख्न चाहन्छु । हामीले मन्त्रालयमा गएपछि सबै काम चुस्तदुरुस्त ढंगले गरेका छौं भन्ने अवस्था पनि छैन । किनभने यो अस्थिरताले यस्तो समस्या सृजना गर्दोरहेछ । तापनि कर्मचारीहरूको रूपान्तरणका लागि संघीय निजामती सेवा विधेयक राज्य व्यवस्था समितिमा दफावार छलफलको क्रममा छ । हामीले सोचेका थियौँ–यसलाई अझ बढ्ता महत्व दिएर संघीय निजामती सेवा ऐनलाई बढी महत्व दिएर यसलाई चाँडो भन्दा चाँडो निकास दिने भनेर मैले पनि राज्य व्यवस्था समितिका सभापतिसँग अनुरोध गरेको थिए । राजनीतिक दलका प्रमुख सचेतकलाई पनि मन्त्रालयमा बोलाएर यो ऐन नआउँदा अहिले पनि प्रदेश र स्थानीय तहको कर्मचारी व्यवस्थापनमा पनि समस्या छ । त्यसैले यसलाई चाँडो भन्दा चाँडो समाधान गर्नु पयो भनेर सबै दलको प्रमुख सचेतकलाई पनि मन्त्रालयमा बोलाएर चाँडो निकास दिनका लागि पहल गरेँ ।’

मन्त्री जोशीले संघीय निजामती सेवा ऐनको अभावमा प्रदेश र स्थानीय तहमा कर्मचारीको उचित व्यवस्था हुन नसकेको पनि स्मरण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *