प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन्छौँ : घनश्याम भुसाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का निः वर्तमान महासचिव घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताएका छन् ।

बिहीबार महाधिवेशनस्थल कमलादीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै निः वर्तमान महासचिव भुसालले आफूहरू पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारबाट फिर्ता नहुने बताउनु भयो । उहाँले प्रधानमन्त्रीलाई आफूहरूको समर्थन जारी रहेको बताए ।

पार्टीको नेतृत्व सर्वसहमतीमा टुङ्ग्याउने प्रयास भइरहेको बताएका हुन् । उनले महाधिवेशनबाट निस्कँदै गर्दा पार्टीलाई एकताबद्ध र उत्साहित कसरी बनाउने भन्नेमा नै प्रतिनिधिहरूको चासो, चिन्ता र संकल्प रहेको भन्दै आफूहरू त्यसै अनुरूप अगाडी बढेको बताए । नेतृत्व सर्वसम्मत चयन गर्नका लागि समय लागेको भन्दै परिणाम भने राम्रै आउने उनको भनाई छ ।

उनले भने – ‘महाधिवेशनबाट हामी निक्लँदा एकताबद्ध, उत्साहित भएर कसरी निक्लन सक्छौँ भन्ने बारेमा हामीले छलफल गर्दै छौँ । सबै प्रतिनिधिहरूको चासो, चिन्ता, सङ्कल्प, प्रयत्न त्यही नै हो । त्यसमा हामी निराश छैनौँ । अलिकति समय लागेको छ, तर परिणाम राम्रै आउँछ भन्ने मलाई लाग्छ । निर्वाचन हुँदा पनि हामी सर्वसहमतीमै निर्वाचनमा जान्छौँ । निर्वाचनको मूल्य, प्रक्रिया मानेरै जान्छौँ । सकेसम्म त्यो पनि नहोस् भन्ने कुरा त हामीले पहिलेदेखि नै भन्दै आएका छौँ । निर्वाचनमा जान नपरीकन सर्वसम्मतिमै सबै मामिला टुंगिउन भन्ने हाम्रो प्रयत्न छ । त्यसमा अहिलेसम्म पनि हामी निराश छैनौँ । हामी सहमतिका लागि प्रयत्न गर्दैछौँ । हामी निराश छैनौँ ।’

उनले आफूहरूले भरसक निर्वाचनमा जान नचाहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *