एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरूको जोड

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महाधिवेशन प्रतिनिधिहरूले जारी महाधिवेशनबाट नेतृत्व लगायतका सिङ्गो कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा जोड दिएका छन् ।

काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा गत असार १६ गतेदेखि दशौँ राष्ट्रिय महाधिवेशन जारी छ । अहिले नेतृत्व चयनका लागि शीर्ष नेताहरूका बीचमा विभिन्न चरणमा छलफल भइरहेको छ । निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरिसकेको छ भने निर्वाचन गराउनका लागि समितिले आफ्नो तर्फबाट तयारी गरिरहेको छ ।

नेकपा (एमाले) बाट विभाजन हुनुको औचित्य पुष्टि गर्न भन्दै पार्टीको अध्यक्षमा माधवकुमार नेपाललाई चयन गर्नुपर्ने र अध्यक्षका दाबेदार घनश्याम भुसाल लगायतका नेताहरूलाई पनि समेटेर अगाडी बढ्नुपर्ने मत प्रतिनिधिहरूले राखेका छन् ।

महाधिवेशन प्रतिनिधि गोविन्दप्रसाद सुवेदीले नेतृत्व सर्वसम्मत चयन हुनुपर्नेमा प्रतिनिधिहरूले दबाब दिएका बताए । उनले नेतृत्वमा विवाद गरे पार्टी निर्माणमा अप्ठ्यारो पर्ने भन्दै सर्वसम्मत गर्नुपर्ने धारणा राखे ।

त्यस्तै महाधिवेशन प्रतिनिधि ओसिम आलमले एकीकृत समाजवादी विद्रोहबाट जन्मिएको पार्टी भएको भन्दै विद्रोहको नेतृत्वकर्ता माधवकुमार नेपालकै नेतृत्वमा सर्वसहमती हुने बताए । अन्य पदमा युवाको प्रतिनिधित्व हुनुपर्ने उनको भनाई छ ।

त्यस्तै महाधिवेशन प्रतिनिधि विश्वमणि सुवेदीले एमालेबाट गरेको विद्रोहको औचित्य पुष्टि गर्न र कम्युनिस्ट आन्दोलनलाई अझ समृद्ध बनाउन महाधिवेशनले विद्रोहको नेतृत्वलाई नै अनुमोदन गर्ने बताए ।

त्यस्तै महाधिवेशन प्रतिनिधि मिना परियारले जसको नीति उसको नेतृत्व हुनुपर्ने बताए । उनले नेतृत्वमा पुस्तान्तरणको कुरा आइरहेको भन्दै पुरानाको अनुभवलाई बाँड्दै युवा नेतृत्व निर्माण गर्नुपर्ने धेरैको आवाज रहेको बताए ।

महाधिवेशन प्रतिनिधि अजबहादुर मल्लले पनि महाधिवेशनले सर्वसम्मत रूपमा माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने बताए । उनले निर्वाचन हुने बताए ।

उनले महाधिवेशनले पार्टीलाई अझ एकताबद्ध बनाएर लैजाने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *