एसइईको मौका परीक्षा दिने विद्यार्थीलाई निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने ओलीको घोषणा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को मौका परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने बताएका हुन् ।

बिहीबार रुपन्देहीमा २०८० सालको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्दै उनले सो घोषणा गरेका हुन् । उनले एसइई परीक्षा राम्रोसँग उत्तीर्ण गराउनका लागि अंग्रेजी, गणित, अप्सनल म्याथ, साइन्स र सामाजिक विषयका कक्षाहरू अनलाइनमार्फत उपलब्ध गराइने बताए ।

उनले काठमाडौँबाट गुणस्तरीय शिक्षकले अनलाइनमार्फत शिक्षा दिनुहुने बताए । उनले अनलाइन कक्षाको व्यवस्था देशभर नै गर्ने भन्दै निःशुल्क अनलाइन शिक्षा लिनका लागि केपी शर्मा ओली फेसबुक पेजमा सम्पर्क राख्न आग्रह गरे । उनले पेजमा सम्पर्क नम्बर छोडेपछि अनलाइन कक्षामा जोडिएर अनलाइन कक्षाको लाभ लिन सकिने बताए ।

उनले भने ‘यत्रो ठुलो ५३ प्रतिशत किन फेल भयो भन्दा अप्सन नै छैन । शिक्षकहरू गुणस्तरीय शिक्षक, शिक्षकहरूले नै तालिम पाएका छैनन्, शिक्षक नै गुणस्तरको छैन । जसले नलेज ट्रान्सफर गर्नसक्छ । सम्प्रेषण गर्नसक्छ । नलेज ट्रान्सफर गर्ने, पहिला आफूसँग नलेज हुनुपर्छ । नलेजको स्किल हुनुपर्छ । हाउ टु ट्रान्सफर नलेज । अरू विद्यार्थी कमसल भएर होइन । म एसइई पास गरेका सम्पूर्ण विद्यार्थीलाई बधाई भन्न चाहन्छु । शुभकामना भन्न चाहन्छु । उहाँहरूको भविष्य सफल होस् । अब मौका परीक्षा पाउँदै हुनुहुन्छ, विद्यार्थीले । मौका परीक्षा दिन पाउँदै हुनुहुन्छ, मौका परीक्षा दिनका लागि यही साउनमा दिन तोकिएको छ । त्यस मौका परीक्षामा जस्ताको त्यस्तै दियो भने फेरि उही हुनसक्छ । फेल हुने सम्भावना फेरि जस्ताको त्यस्तै हुन्छ । त्यसकारण मैले तपाईंहरुसँग भेटेकै बेला एसइई पास गरेका विद्यार्थीसँग भेटेकै बेला, तपाईंहरुसँग खुसी साटिरहेका बेला अब मौका परीक्षा दिने विद्यार्थीलाई खुसी म के साट्न चाहन्छु भने उहाँहरूलाई उत्तीर्ण गराउनका लागि अंग्रेजी, गणित, अप्सनल म्याथ, साइन्स र सोसियोलोजीका क्लासहरू अनलाइनमार्फत सबै विद्यार्थी एसइई दिँदै हुनुहुन्छ । उहाँहरूलाई उपलब्ध गराइनेछ, निःशुल्क । देशभर नै । ताकी उहाँहरूले काठमाडौँबाट गुणस्तरीय शिक्षकहरूबाट अनलाइनमार्फत उहाँहरूलाई शिक्षा दिनुहुनेछ । त्यसका लागि केपी शर्मा ओली फेसबुक पेजमा कनट्याक्ट गर्नुहोला । अनलाइन क्लासमा जोडिएर अनलाइन क्लासको लाभ लिन सक्नुहुनेछ ।’

अध्यक्ष ओलीले शिक्षकहरूलाई आवश्यक तालिम दिन नसक्दा गुणस्तरीय शिक्षक पाउन कठिन रहेको भन्दै नलेज ट्रान्सफर गर्नसक्ने क्षमता भएका शिक्षकहरूको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *