एमालेले सुदूरपश्चिम प्रदेश सरकार पनि छाड्यो

नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट पनि बाहिरिएको छ। केन्द्रीय सरकारबाट बाहिरिएको भोलिपल्टै एमालेले दुई वटा प्रदेश सरकार छाडेको हो। कांग्रेससँग मिलेर सरकार बनाउने सहमती भएपछि आफूले सम्हालेका बाहेक सबै सरकारबाट एमाले बाहिरिन थालेको हो।

आजै लुम्बिनी प्रदेशबाट पनि एमाले बाहिरिएको छ। आफ्ना मन्त्रीलाई राजीनामा गर्न लगाएर समर्थन पनि फिर्ता लिएको छ।

नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले समर्थन फिर्ता लिएको पत्र सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयमा दर्ता गराएका छन्।

मुख्यमन्त्री दीर्घबहादुर सोडारी संघीय राजधानी काठमाडौँमा रहेकाले समर्थन फिर्ता लिएको पत्र कार्यालयमा दर्ता गरिएको हो। यस्तै, सरकारमा सामेल एमालेका तीन मन्त्रीले मुख्यमन्त्री कार्यालयमा राजीनामाबुझाएका छन्।

आर्थिक मामिला तथा योजना मन्त्री सुरेन्द्र बहादुर पाल, वन, वातावरण तथा सहकारी मन्त्री वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्कीले राजीनामा बुझाएका छन्।

यो सँगै सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी अल्पमतमा परेका छन्। नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्तिको समर्थनमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको नेतृत्वमा ६ वैशाखमा सरकार बनेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *