नयाँ सत्ता समीकरण

नौ वर्षपछि प्रतिपक्षको बाटोमा माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्र करिब ९ वर्षपछि प्रतिपक्षमा पुग्ने लगभग निश्चित छ । सोमबार मध्यरातमा कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनेसँगै माओवादी प्रमुख प्रतिपक्षी दल बन्ने अवस्थामा पुगेको हो ।

अब राजनीतिक रुपमा अप्रत्याशित परिवर्तन नभएमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख प्रतिपक्षी दलको बेन्चमा हुनेछन् । गणतन्त्रपछि सबैभन्दा बढी सत्ताको स्वाद लिएको माओवादी प्रत्येक निर्वाचनमा ओरालो यात्रामा छ ।

०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा माओवादीले लज्जास्पद पराजय भोगेपछि ०७२ असोजसम्म माओवादी प्रमुख प्रतिपक्षमा बसेको थियो । कांग्रेस र एमालेसहितका दलले सरकार बनाएका थिए । त्यसपछिका ९ वर्ष माओवादी प्रमुख प्रतिपक्ष बनेको छैन ।

०७७ साल पुस ५ गते एमालेका अध्यक्ष केपी ओली नेतृत्वको नेकपा सरकारले संसद् विघटन गरेपछि माओवादी सत्ताबाट बाहिरियो । तर प्रमुख प्रतिपक्षमा कांग्रेस थियो माओवादी सानो दल भएकाले प्रतिपक्ष मात्रै भयो ।

सशस्त्र युद्धमा रहेको तत्कालीन नेकपा माओवादी ०६२ साल मंसिरमा १२ बुँदे सम्झौतामार्फत शान्ति प्रक्रियामा आएको थियो । ०६४ को निर्वाचनमा माओवादी सबैभन्दा ठुलो दल बन्न पुग्यो । ०६३ सालमा तत्कालीन कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको अन्तरिम सरकारबाट माओवादीले सत्ता यात्रा सुरु गरेको थियो ।

गणतन्त्र स्थापनापछि नेपालमा १३ सरकार बने । १४ औं बन्ने तयारीमा छ । पछिल्ला १८ वर्षमा बनेका १३ सरकारमध्ये माओवादी १० सरकारमा सहभागी छ । ४ पटक सरकारको नेतृत्व नै गर्‍यो । प्रचण्डले ३ पटक र डा. बाबुराम भट्टराईले एकपटक सरकारको नेतृत्व गरे । दर्जनौँ मन्त्री बने । १३ सरकारमध्ये माओवादी ३ पटक मात्रै प्रतिपक्षमा बसेको अर्थात् सरकारमा प्रतिपक्ष दलको भूमिका निर्वाह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *