बेइजिङ प्लसमा दलित महिलाका मुद्दा उठाउन सुझाव

काठमाडौँ । अन्तर लैङ्गिक सहभागितालाई विश्व महिला सम्मेलन ‘बेइजिङ प्लस’ मा जोड दिन महिला अधिकारकर्मीहरूले सुझाव दिएका छन् । उक्त सम्मेलनमा दलित महिलाका मुद्दालाई प्राथमिकताका साथ उठाउन आवश्यक रहेको उनीहरूले सुझाव दिएका हुन् ।

काठमाडौँमा आज दलित महिला सङ्घ (फेडो) ले दलित महिला पत्रकार र अधिवक्ताहरुबीच अन्तरक्रिया गरेको थियो । उक्त अन्तरक्रियामा सन् २०२५ मा हुन लागेको बेइजिङ प्लस सम्मेलनमा दलित महिलाका मुद्दा उठाउने अधिकारकर्मी दुर्गा शोवले बताइन् । फेडोको संस्थापक अध्यक्षसमेत रहेका शोवले अन्तर लैङ्गिकताका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

‘महिला भित्रै हुने विभेदमा पनि दलित महिला चरम विभेदमा छन्,’ उनले भनिन्, ‘हामीले मुद्दा उठाउँदा फरक अवस्था र लैङ्गिकताको अध्ययन गरेर उठाउनुपर्ने देखिन्छ ।’ उनले फेडोले यिनै दलित महिलाका फरक भोगाई, चुनौती र समस्याका विषयलाई प्रमुख मुद्दा बनाएर बेइजिङ सम्मेलनमा प्रतिवेदन पेस गर्ने बताइन् ।

अनुसन्धानकर्ता एवं मानव अधिकार अध्येता तनुजा बस्नेतले समग्र महिलाको तुलनामा दलित महिलाको अवस्था नितान्त फरक रहेको बताइन् । तसर्थ विश्व सम्मेलनमा दलित महिलाको मुद्दालाई छुट्टै र विशेष तरिकाले ध्यानाकर्षण गराउन जरुरी रहेको उनको बुझाइ छ । ‘सीमान्तकृत समुदायको आवाज विश्वमा पुर्‍याउने थलो भनेको बेइजिङ प्लस सम्मेलन हो’, उनले भनिन्, ‘अन्तर लैङ्गिकताको विषयमा दलित महिलाका मुद्दा कमै उठाइन्छ, जुन संवेदनशील छ ।’

सन् २०२५ मार्च ३० मा बेइजिङ प्लस हुँदै छ । यो बेइजिङ सम्मेलनको ३०औँ वार्षिकोत्सव हो । सम्मेलनमा नेपालका तर्फबाट महिलाका मुद्दा उजागर गर्दा दलित महिलालाई विशेष ध्यानाकर्षण गराउने उद्देश्यले फेडोले लक्षित वर्गसमक्ष सुझाव लिएको फेडोका महासचिव रेणु सिजापतीले बताइन् । अन्तरक्रियामा दलित महिला पत्रकार र अधिवक्ताहरूले लिखित रूपमा बुँदागत सुझाव दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *