एमालेसँग विद्रोहको औचित्य पुष्टि भएन भन्नेको प्रतिवाद गर्नुस् : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएन भन्नेहरूसँग प्रतिवाद गर्न पार्टीको नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पार्टी निकट प्रवासी नेपाली एकता मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएन भन्नेहरू नसुन्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए ।

अध्यक्ष नेपालले एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएकाले त्यस्ता कुरा पार्टीका नेता, कार्यकर्ताहरूले सुन्न आवश्यक नरहेको जिकिर पनि गरे । एमालेसँग विद्रोह नगरेको भए दासको रुपमा बस्नुपर्ने अवस्था आउने थियो भन्दै अध्यक्ष नेपालले त्यसबाट आफूहरूले कम्युनिष्ट आन्दोलनको र आफूहरूको भविष्य सुनिश्चित गराएको दाबी गरे ।

उनले भने ‘अहिले एउटा कुरा म सुन्ने गर्दछु–यो तीन वटा शब्द तपाईँहरू कसैले नसुन्नुस् । कान बन्द गरिदिए हुन्छ । पहिलो कुरा, विद्रोहको औचित्य पुष्टि भएन । यो वाहियात कुरा सुन्दै नसुन्नुस् । तुरुन्त खण्डन गर्नुस् । प्रत्येक घटनाक्रमले हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ । अहिले पनि भइराखेको छ । दिनदिनै भइराखेको छ । विद्रोह गर्नु जायज थियो । विद्रोह नगरेको भए नेपालको कम्युनिष्ट आन्दोलनको रक्षाको निम्ति दृढतापूर्वक उभिने योद्धाहरू हराएर जाने थिए । दास भएर बस्नुपर्दथ्यो । समर्पण गरेर बस्नुपर्दथ्यो । हामी सबैको भविष्य खत्तम भइसकेको हुने थियो । हामीले देखेका छौँ कतिपय नेताहरूको के भएको छ बिजोग । त्यही बिजोग हाम्रो पनि हुने थियो । त्यस्ता चुनौतीको सामना गरेर अघि बढ्ने आँट गर्यौँ ।’

अध्यक्ष नेपालले एमाले भित्र अहिले पनि केही नेताहरू बिजोक अवस्था रहेको जिकिर गर्दै विद्रोह गरेर आफूहरूले देश र जनताको पक्षमा उभिने कम्युनिष्ट पार्टी बनाएको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *